४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

‘वर्गीय मुक्तिको लागि अविचलित योद्धा’



मायादेवी अनलाइन, बाणगंगा ।
आसन्न मंसिर ४ गते हुन गइरहेको कपिलवस्तु-१ को संघीय सांसदका उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ मतदाताको घरदैलोमा व्यस्त छन् ।

पूर्व कृषि मन्त्री भएर काम गरेका बलदेवले आफ्नो राजनीति यात्रा कपिलवस्तुबाटै सुरु गरेका हुन् । १४ बर्षको उमेरमा २०३४ सालमा राजतन्त्र विरोधी पर्चा अभियानमा लागेर राजनीतिमा छिरेका बलदेवले चर्चित राजतन्त्र विरुद्धको २०३६ सालको विद्यार्थी आन्दोलनको अगुवाई गरेका थिए ।

२०३८ सालमा (चौथो महाधिवेशन) को सदस्यता लिएका बलदेवले २०४३ सालमा पूर्णकालिन कार्यकर्ता भई वर्गीय मुक्तिको लागि बामपन्थी आन्दोलनको अगुवाई गरेका थिए । २०४५ सालमा कपिलवस्तुका ३२ बढि विकासे मुद्धा उठाउन कपिलवस्तु विकास परिषद गठन गरि आन्दोलन थालेका बलदेव ६ महिना जेल बसेका थिए ।

२०५० सालमा नेकपा (एकता केन्द्र) को जिल्ला सेक्रेटरी बनेका खनाल २०५२ सालमा नेकपा माओवादीको नामबाट सुरु भएको जनयुद्धका विभिन्न मोर्चाहरु सम्हाल्दै २०६१ सालको चुनवाङ बैठकबाट माओवादी सेनाको डेपुटी कमाण्डरको जिम्मेवारीमा आएका हुन् ।

१२ बुंदे विस्तृत शान्ति सम्झौता पश्चात सम्झौताको महत्वपूर्ण पाटो मानिने सेना समायोजनमा अनमिनसंग मिलेर विशेष भूमिका निर्वाह गरेका उनले त्यस यता राष्ट्रिय राजनितिको केन्द्रमा रहि काम गर्ने मौका पाए ।

६० बर्षीय बलदेव ०७४ सालमा प्रतिनिधिसभा १ को संघीय सांसदमा निर्वाचित भएका थिए । बाम आन्दोलनमा ४५ बर्षीय जीवन खर्चिएका नेता हुन् उनी ।

बलदेवसंग पंचायतकालमा ५ पटक र जनयुद्ध यता २ पटक पक्राउ गरी २ बर्षसम्म जेलजीवन विताएको अनुभव छ । पछिल्लो पटक कृषि मन्त्री बनेका उनी तत्कालिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो कार्यकालको प्रधानमन्त्री हुँदा वरिष्ठ राजनैतिक सल्लाहकारको रुपमा नियुक्त भई काम गरेका थिए । त्यो बेलामा पनि करोडौंको बजेट जिल्ला भित्राएका थिए ।

बलदेवको जीवन राजनीति संघर्षमै वितेको छ । तात्कालिक जनमुक्ति सेनाका डेपुटी कमान्डर बलदेवले अतीत सुनाउँदै भन्छन, ‘दुई–तीन वर्ष लगाएर भारतमै फोटोग्राफी सिकें । संवत् २०३८ मा नेपाल फर्केर फोटो स्टुडियो सञ्चालन गरी जीविकोपार्जन गर्न थालें ।’

जनमुक्ति सेनाका डेपुटी कमान्डर भइसकेका खनाल ०३८ जेठदेखि युवक संघमा आबद्ध भए । ‘०३४ मा राजतन्त्रविरोधी पर्चा गाउँ (अर्घाखाँची) पुर्‍याइएको रहेछ,’ उनले सम्झे, ‘पर्चा टाँस्नेमा म पनि थिएँ । त्यतिबेला म १४ वर्षको थिएँ ।’

त्यहाँदेखि यहाँसम्म आइपुग्दा खनालले पछाडि फर्केर हेर्न परेन । आफूलाई त्यहाँसम्म पुर्‍याउँछु भन्ने महत्वाकांक्षा पनि छैन । ‘काम गर्दै जाँदा यहाँसम्म आइपुगेको हुँ,’ उनले खुसी व्यक्त गरे, ‘राम्रो काममा लागिरहने मिसन छ । आफूलाई त्यहाँसम्म पुर्‍याउने भन्ने महत्वाकांक्षा छैन । यो वा त्यो बन्ने भनेर आएकै होइन ।’

भौतिकवादी हुने, कम्युनिस्ट भएर जनताको सेवा गर्नेबाहेक इन्द्रेणी सपना नदेखेका बलदेव आसन्न चुनावमा बाम–लोकतान्त्रिक गठबन्धनबाट चुनावमा होमिएका छन् । सत्तारुढ चार दलीय गठबन्धनको बलियो साथ पाएका उनी एमालेका बलराम अधिकारीसंग मुख्य प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  १० : ०६ बजे