२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

प्रतिनिधि सभामा उठ्ने आट गरेका देवेन्द्र



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु प्रतिनिधि सभा १ मा उदाउदो युवा देवेन्द्र कुमार शर्मा उम्मेदवार छन् । हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो लिएर आसन्न मंसिर ४ को निर्वाचनमा उनी मत माग्न घरदैलोमा व्यस्त छन् ।

व्याचलर इन सिभिल इन्जिनियर गरेका शर्मा विद्यार्थी नेता हुन् । काठमाडौंमा पढाई गर्दा गर्दै उनी विद्यार्थी राजनीतिमा आवद्ध भए । समाज रुपान्तरणमा राजनीति बाहेक अर्को विकल्प नदेखेका शर्मा सिंगो प्रतिनिधिसभामा उम्मेदवार बनेका हुन् ।

एका तिर सत्तारुढ गठबन्धन, अर्का तिर नेकपा एमालेको दबदबाका बीच उनको उम्मेदवारीलाई एक साहसिलो कदमका रुपमा हेरिएको छ ।

कार्यकर्ताको बलियो उपस्थिति रहेका ठूलो दलले शर्माको उम्मेदवारीलाई आफ्नो प्रतिस्पर्धीका रुपमा हेरेका छैनन् । तरपनि शर्माले युवा र बृद्धबृद्धाको साथ पाएका छन् ।

घरदैलोका क्रममा उनी प्रति मतदाताले देखाएको साहनुभूति लोभलाग्दो छ । यद्यपि मत कति पाउँछन् त्यो हेर्न भने मंसिर ४ कुर्नुपर्छ ।

शर्माको घर कपिलवस्तु नगरपालिका वडा नं. १० मा पर्छ । जगदीशपुर तालको सेरोफेरोमा बस्ने शर्मा जिल्लाको विकास नभएको कारण आफू उम्मेदवार बन्नु परेको तर्क गर्छन् ।

थुप्रै सम्भावना रहदा रहदै कपिलवस्तु विकासमा पछाडी परेको कारण आफूले योजनावद्ध विकासको खाका कोरेर चुनावी अभियानमा होमिएको उनी बताउँछन् ।

पटक पटक विभिन्न दलका नेतालाई यहाँका जनताले सांसद बनाए पनि सोचेजस्तो विकास हुन नसकेको उनको आरोप छ ।

पर्यटनको प्रवल सम्भावना रहेको जिल्ला सिंचाई, शिक्षा, स्वास्थ्य जस्ता जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा समेत विकास हुन नसकेको उनको निचोड छ । ठूला दलका नेताबाट यी क्षेत्रको विकास हुन सक्ने आफूले नदेखे पछि संघमा उम्मेदवारी दिन बाध्य भएको उनले बताए ।

स्वतन्त्र रुपमा नै आफू उम्मेदवार बनेको उनको दाबी छ । प्राविधिक रुपमा लौरो चुनाव चिह्न कुनै पार्टीको भए पनि आफ्नो उम्मेदवारी स्वतन्त्र नै भएको उनले जनाए ।

शर्माका आफ्ना नेता तथा कार्यकर्ता नभए पनि उनलाई स्वतन्त्र मतदाताले सघाएका छन् । उनी प्रत्येकको घरदैलोमा पुगेर मत मागिरहेका छन् । एक्लै लौरो बोकेर मतदाताका घरघरमा पुगेका शर्माले आफ्नो प्रतिवद्धता पत्र बाडिरहेका छन् ।

विकासका कयौं सपना लेखिएको प्रतिवद्धता पत्रलाई विश्वास गरेर आफूले मत पाउनेमा उनी आशावादी छन् ।

ठूला बजार भएका क्षेत्रमा उनले भाषण मार्फत मतदाता आकर्षित गर्ने प्रयासमा देखिन्छन् । गाउँ गाउँमा उनी मतदातालाई भेटेर आर्शिवाद लिइरहेका छन् । यो निर्वाचन आफूले जित्ने उनको दाबी छ । आफ्ना प्रतिस्पर्धी पुराना र पटक पटक जनताले हेरिसकेका भएकाले आफू नयाँ र युवा भएकाले मत पाउनेमा उनको विश्वास छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९ शनिबार ००:००  ५ : ०० बजे