१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

जीवलाल पौडेललाई मतदाताको दरिलो साथ छ



मायादेवी अनलाइन, चन्द्रौटा ।
प्रत्यक्ष चुनावको अनुभव नसम्हालेका जीवलाल पौडेल आसन्न मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनेका छन् ।

उमेरले ४६ पुगेका पौडेल आजसम्म निर्वाचन लडेको अनुभव छैन् । सधैं अरुलाई जिताउन मरिहत्ते गर्ने पौडेल हाल आफै उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट कपिलवस्तु ३ को प्रदेश सभा ‘क’ का उम्मेदवार रहेका उनले जीवनभर एमालेको राजनीति गरे । कलिलै उमेर देखि एमालेको सक्रिय राजनीतिमा लागेका उनी एमालेबाट विद्रोह गरी बनेको एकीकृत समाजवादीमा आवद्ध हुँदै लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी सम्हालेका छन् ।

हरेक चुनावको अग्रभागमा रहेर आफ्ना उम्मेदवारलाई जिताउन लाग्ने पौडेल एक पटक आफूलाई मत दिएर हेर्न अनुरोध गरिरहेका छन् । धेरै विश्वास गरेर जिताएका जनप्रतिनिधिले भनेजस्तो काम नगरे पछि आफू उम्मेदवार बनेको उनको तर्क छ ।

‘जनताको अवस्था जहाँको त्यही रह्यो । हामीले पटक पटक विभिन्न साथीहरुलाई जनप्रतिनिधि बनायौं तर जनताले भनेजस्तो विकास पाएनन् उम्मेदवार पौडेल भन्छन्,’ ‘अब आफैले केही गर्ने गरी चुनावमा होमिएको छु ।’

यो निर्वाचन आफूले जित्ने उनको दाबी छ । जितेकाले केही गर्न नसकेकाले आफूले स्पष्ट विकासको खाका लिएर मतदाता कहाँ पुगिरहेको उनले बताए । जनतालाई समृद्धिसंग जोड्ने गरी आफ्नो उम्मेदवारी रहेको उनले जनाए ।

पौडेल चन्द्रौटा क्षेत्रका सफल नेता हुन् । जनताका हरेक सुख, दुखमा साथ दिदैं आएका उनलाई मतदाताले खुसी व्यक्त गर्दै घरदैलोमा साथ दिइरहेका छन् । मतदाता कहाँ भोट माग्न जादा उनले गाली पनि खाइरहेका छन् । पटक पटक चुनाव जितेकाले केही नगरेको रिस पौडेलसंग मतदाताले पोख्ने गरेका छन् ।

पौडेल धैर्य रहदै मतदाताका गुनासो सुन्छन्, आफूले जिते यो गुनासो रहन नदिने प्रतिवद्धता गर्छन् । जुनै नेता पनि त्यस्तै हुन् भन्दै मतदाता प्रश्न गर्दै भन्छन् । पौडेल एकपटक जाचेर हेर्न आग्रह गर्छन् ।

उम्मेदवारी दिए पछि हरेक मतदाता कहाँ पुगिरहेका पौडेलले जनताको अवस्थामा परिवर्तन आउन नसक्दा नेताहरु प्रति आक्रोश रहेको आफूले पाएको अनुभव सुनाउँछन् । राजनीतिक दलहरु प्रति धेरै आशा रहेपनि ती आशा पुरा हुन नसकेको उनी बताउँछन् । नेताहरु चुनाव जितेपछि गाउँ फर्कदैनन् भन्ने अधिकांश मतदाताले गुनासो गरेको उनले बताए ।

मतदाताको दरिलो साथ आफूले आएको भन्दै यो चुनाव जित्नेमा उनी आशावादी छन् । पौडेलले युवा पिढी, नयाँ मतदाता, बृद्धबृद्धाको दरिलो साथ पाएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९ आइतबार ००:००  ७ : ४३ बजे