२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

चुनाव जित्नेमा विष्णु ढुक्क, भने-‘एमाले सरकारमा मन्त्री बन्छु’



मायादेवी अनलाइन, चारनम्बर ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा चुनाव आउन अब आधा महिना पनि छैन । मुलुकभर नै अहिले चुनावी वातावरण छ । मतदाता कस्तो उम्मेदवारलाई जिताउँदा मुलुक विकास हुन्छ भन्ने छलफलमा रहेका देखिन्छन् भने दलका उम्मेदवारहरु पनि आ–आफ्नो चुनावी घोषणा लिएर विकासको प्रतिवद्धता जनाउँदै जनताको घरदैलोमा छन् । यस्तै घरदैलोमा छन् सेलिब्रेटी सांसदको रुपमा चिनिएका विष्णु पन्थी पनि ।

कपिलवस्तुको निर्वाचन क्षेत्र, क्षेत्र नम्बर १ ‘क’ मा प्रदेश सांसदमा दोहोरिन खोजेका पन्थी आफैमा ‘सेलिब्रेटी’ नेताका रुपमा चिनिन्छन् । यस क्षेत्रमा मात्र नभएर लुम्बिनी प्रदेशमै धेरैले उनलाई चिन्छन् । कोरोना महामारीको रुपमा देखाएको सक्रियता होओस् या सामाजिक संजालका लेखाई, पटक-पटक उनी चर्चामा आउँछन् ।

२०७४ सालमा चुनाव जितेपछि आम मतदाताको घरदैलोमै ५ बर्ष विताएको दावी गर्ने पन्थी सबै दल र वर्गका साझा नेता हुन् भन्दा पनि फरक नपर्ला । कपिलवस्तुमा हुने बिभिन्न कार्यक्रममा उनलाई ‘प्रमुख वक्ता’ को रुपमा बोलाइन्छ । त्यसकारण पनि उनी ‘सेलिब्रेटी’ जस्ता छन् ।

अन्य उम्मेदवारभन्दा उनको लोकप्रियता धेरै छ । उनै पन्थीलाई टक्कर दिनको लागि चुनावी मैदानमा सत्ता गठबन्धनबाट मैदानमा छन् कपिलवस्तु उद्योग वाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरे ।

उनी सरल नेताको रुपमा चिनिन्छन् । पन्थीभन्दा कम लोकप्रिय भए पनि गठबन्धनको साथका कारण पहिलो पटकमै चुनाव जित्ने दाउ उनको छ । यसो भनिरहँदा यी दुई नेतामा कसले बाजी मार्छ त ? जनमानसबीच एउटा जिज्ञासा छ ।

दुवै नेताले जित हासिल गर्ने दावीका बीच बाहिरी चर्चामा विष्णु पन्थीले चुनाव जित्ने आंकलन धेरै छ । त्यसपछाडीका धेरै कारण छन् ।

यस क्षेत्रका बुद्धिजिवी, नागरिक अगुवा, राजनीतिका जानकार, व्यापारी, व्यवसायी पन्थीले सहजै चुनाव जित्ने अनुमान गर्दछन् । गठबन्धनका उम्मेदवार घिमिरेलाई कम नआँक्ने उनीहरु नतिजामा भने विष्णुले नै बाजी मार्ने लख काट्छन् ।

दुवैका आ-आफ्ना विशेषता भए पनि विष्णु एकपटक चुनाव जितिसकेका, यहाँको विकाससंग जोडिइसकेका, सबैसंग परिचित भएका, कोरोना कालमा त्रसित जनताको साथी भएका, पार्टीमा शक्तिशाली, सांसद भएर मन्त्री मुख्य मन्त्रीसम्मको योग्यता बोकेका, अहिलेसम्म कुनै विवाद र काण्डमा नफसेका इत्यादि कारणले पन्थीले घिमिरेलाई सजिलै हराउने बाहिरी विश्लेषण छ । मतान्तर धेरथोर जति भए पनि अन्तिममा भने पन्थी दोश्रो पटक सांसदमा विजयी हुने बताइन्छ ।

बाहिरी विश्लेषणजस्तै पन्थी पनि यसपटक चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन् ‘चुनाव जित्न मलाई कुनै असहजता भएको देख्दिनँ । यो मेरो दावीभन्दा पनि मतदाताको दावी हो । यो त्यो केही नभनौँ मैले चुनाव सजिलै जित्छु ।’

डोलकराम घिमिरे पनि आफ्नो असल मित्र भएको उनको भनाई छ । यसपटक फेरि चुनाव जितेर गर्न बाँकी रहेका अधुरा कामहरु फत्ते गर्ने उनले बताए । मंसिर चारपछि संघ र प्रदेशमा एमालेको सरकार बन्ने र त्यतिखेर ‘मुख्यमन्त्री’ या ‘मन्त्री’ को दावी आफूले गर्ने पनि उनले बताए ।

‘अघिल्लो पटक बिभिन्न कारणले मन्त्री हुन पाइनँ । प्रदेशमा एमालेले चुनाव जित्ने छ र म मुख्य मन्त्री या मन्त्री बन्ने छु । त्यसपछि यहाँको विकास गर्न थप सजिलो हुने छ । पार्टीसंग पनि यस्तो प्रस्ताव गरेको छु’ उनी दावी गर्दछन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९ आइतबार ००:००  ८ : ५४ बजे