१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

लुम्बिनी प्रदेशमा कसैको पुग्ने भएन एकल बहुमत, को होला निर्णायक ?



बुटवल ।
५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशसभा सदस्यतर्फ रुपन्देही–३ ‘ख’को अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबर १७/१७ स्थानमा जितेका छन् । मतगणना जारी रहेको रुपन्देही–३ ‘ख’ मा एमाले उमेदवार झिनो मतान्तरले अगाडि छन् ।

यहाँ माओवादी केन्द्र पाँच, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान दुई/दुई क्षेत्रमा विजयी भएका छन् । जनमत पार्टीले एक र तीन क्षेत्रबाट स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । स्वतन्त्रमध्ये एकले माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका थिए ।

एमाले र माओवादी मिल्ने सम्भावना कति ?

केन्द्रमा एमाले र माओवादी मिलेर सरकार बनाउने अवस्था बनेमा लुम्बिनीमा त्यस्तै हुनसक्छ । निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन संवाद भएकाले पनि सो सम्भावना बारेमा चर्चा सुरु भएको हो ।

एमाले र माओवादीसहितको सरकार बनेमा राप्रपा र जसपा पनि त्यसमा सहभागी हुनसक्छन् । समानुपातिकतर्फको मतपरिणाम आइनसकेको अवस्थामा प्रत्यक्षमा एमालेले १७ स्थानमा जितेको छ । एक स्थानमा जितनजिक छ । माओवादी ६ (एक स्वतन्त्रसहित) र जसपा र राप्रपाका दुई/दुई प्रदेशसभा सदस्य हुनेछन् । यसरी हेर्दा २७ प्रत्यक्ष सांसद हुनेछन् । प्रतिपक्षमा २६ सांसद रहनेछन् ।

यदि, एमालेले बाँकी रहेको स्थानमा जितेमा र स्वतन्त्र विजेता, उन्मुक्ति र लोसपालाई सरकारमा सहभागी बनाएमा बहुमत पुग्नेछ । तर, यो सम्भावना निकै कठिन देखिन्छ ।

अर्कोतर्फ, एमालेले कांग्रेस र माओवादीलाई छाडेर सरकार बनाउन खोजेमा आफ्नो १७, अग्रता रहेको स्थानमा जितेमा एक, नागरिक उन्मुक्ति, जसपा, लोसपा, राप्रपाका दुई/दुई, जनमत एक र स्वतन्त्र विजेता दुई (एक माओवादीमा फर्कन सक्ने भएकाले) गरी २९ सांसद हुनेछन् । यसो गर्दा प्रतिपक्षमा २३ सांसद हुनेछन् ।

कांग्रेस र माओवादीसहितको सरकारको सम्भावना बलियो
संघमा पनि अहिलेको गठबन्धनकै सरकार बन्न सक्ने गरी मतपरिणाम सार्वजनिक भएको छ । सोही गठबन्धनकै सरकार बनेमा लुम्बिनी प्रदेशमा पनि कांग्रेस, माओवादीसहितको सरकार बन्न सक्छ । कांग्रेसका १७, माओवादीका ६ (एक स्वतन्त्रसहित) र लोसपाका दुई सांसद (प्रत्यक्ष निर्वाचित) सहितको सरकार बन्न सक्छ ।

उक्त सरकार बलियो बनाउन उन्मुक्ति पार्टी, जनमत र स्वतन्त्र विजेतालाई सरकारमा ल्याउने प्रयास भएमा ३० जना सत्तापक्षीय प्रदेशसभा सदस्य हुनेछन् । एमालेका १७, जसपाका दुई र राप्रपाका दुई गरी २१ जना प्रतिपक्षमा रहन सक्नेछन् ।

कुन जिल्लामा कुन दलले कति सिट जिते ?
१. गुल्मी 
एमाले – तीन
कांग्रेस – एक

२. पाल्पा
एमाले – दुई
कांग्रेस – एक
माओवादी केन्द्र – एक

३. अर्घाखाँची
एमाले – दुई

४. रुपन्देही
एमाले – तीन
राप्रपा – एक
कांग्रेस – दुई
लोसपा – दुई
जनमत पार्टी – एक

५. कपिलवस्तु
एमाले – चार
राप्रपा – एक
कांग्रेस – एक

६. रुकुम पूर्व
स्वतन्त्र – एक
कांग्रेस – एक

७. रोल्पा 
माओवादी केन्द्र – एक
स्वतन्त्र – एक (माओवादीका ‘बागी’ हुन् ।)

८. प्युठान 
कांग्रेस – एक
एमाले – एक

९. दाङ
माओवादी – दुई
कांग्रेस – चार

१०. बाँके
माओवादी – एक
एमाले – दुई
कांग्रेस – एक
जसपा – दुई

११. बर्दिया
कांग्रेस – दुई
उन्मुक्ति पार्टी – २

१२. नवलपरासी
स्वतन्त्र – एक
कांग्रेस – तीन

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  ११ : १५ बजे