७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

महासचिव पोखरेलको गृह जिल्ला दाङमा एमाले शून्य



काठमाडौं ।
नेकपा एमालेका शक्तिशाली महासचिव शङ्कर पोखरेलको गृह जिल्ला हो दाङ । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भए लगत्तै झण्डै तीन वर्ष मुख्यमन्त्री समेत भएका थिए नेता पोखरेल । उनले लुम्बिनीको राजधानी बुटवलबाट दाङ ल्याउने हर प्रयत्न समेत गरे । उनै पोखरेल मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ मात्रै पराजित भएनन् सिङ्गो दाङमा नै एमाले सांसदले चुनाव जित्न सकेनन् । 

प्रतिनिधि सभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पोखरेल उम्मेदवार बनेका थिए । तर, उम्मेदवारी दर्ताका बेला हेभीवेट उम्मेदवारका रूपमा चर्चा पाएका पोखरेल आफैँ माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग पराजित बन्न पुगे । नेता पोखरेलमात्रै होइन प्रतिनिधि सभामा तीन निर्वाचन क्षेत्र र प्रदेश सभामा ६ क्षेत्र रहेको दाङमा नेकपा एमालेका कुनै पनि उम्मेदवारले जित्न सकेनन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यगरी नौ सिट रहेको उक्त जिल्लामा कुनै पनि सिट एमालेले जित्न नसक्दा एमाले शून्य हुन पुगेको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा एमाले नेतृ शान्ता चौधरी उम्मेदवार थिइन् । तर उनलाई हराउँदै नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी निर्वाचित भए । सो निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्यतर्फ पनि एमालेका उम्मेदवारहरू निर्वाचित भएनन् । दाङ १ को प्रदेश सभा ‘क’ मा एमालेका गंगाराम भट्टराईलाई हराउँदै माओवादीका इन्द्रजीत थारु निर्वाचित भए भने ख मा एमालेका कुलबहादुर खत्रिलाई हराउँदै कांग्रेसका अनुराग खड्का निर्वाचित बने ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा महासचिव पोखरेल आफै निर्वाचन लडेका थिए । उनलाई माओवादीकी रेखा शर्माले हराउँदा सो क्षेत्रको प्रदेश सभातर्फ पनि एमालेले कुनै सिट जित्न सकेन । सो क्षेत्रको प्रदेशसभा क मा एमालेका बलिभद्र रानालाई हराउँदै कांग्रेसका राजु खनाल निर्वाचित भए भने ‘ख’मा पनि एमालेका गिरीराज केसीलाई हराउँदै कांग्रेसकै प्रचण्डविक्रम न्यौपाने निर्वाचित हुन पुगे ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी कोमल वलीलाई पराजित गर्दै कांग्रेसका दीपक गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित बने । यो क्षेत्रको प्रदेश सभातर्फ पनि कांग्रेस र माओवादी उम्मेदवार निर्वाचित भएपछि एमाले जिल्लाका नौवटै सिटमा शून्य हुन पुगेको हो । दाङ ३ ‘क’मा एमालेका घनश्याम पाण्डेलाई हराउँदै कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित भएभने ‘ख’ मा एमालेका हुकुमबहादुर बस्नेतलाई हराउँदै माओवादीका धनबहादुर मास्की निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  १२ : ०६ बजे