७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अन्ततः राप्रपाबाट चुनाव जितेका जानकी



मायादेवी अनलाइन, बाणगंगा ।
संविधान जारी भएसंगै २०७४ सालको असार महिनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा जानकी प्रसाद यादव नेपाली कांग्रेसबाट विजयनगर गाउँपालिका अध्यक्षको प्रमुख दाबेदार थिए ।

तर यादवलाई पार्टीले विश्वास गरेन् । उनको टिकट राजेश कुमार उपाध्यायले खोसे । पार्टीले टिकट नदिए पछि विद्रोह गर्दै उनले बागी उम्मेदवारी दर्ता गराए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका यादवले झण्डै चुनाव जितेका थिए । नेकपा (एमाले) का उम्मेदवार गोपाल बहादुर थापासंग यादव २ सय २८ मतान्तरले पराजित भए ।

विजयी थापाले ३ हजार ५१२ मत ल्याउँदा यादवले ३ हजार २८४ मत पाएका थिए । कांग्रेसका उम्मेदवार ८ सय ४९ मत ल्याएर चौथो स्थानमा आएका थिए ।

यादव स्थानीय तहको चुनाव लगत्तै फेरि कांग्रेस छिरे । २०७४ को मंसिरमा तोकिएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार हुने गरी उनी कांग्रेस आएका थिए । प्रदेश सभा सदस्यको आकांक्षी रहेका यादवलाई पार्टी केन्द्रले टिकट दियो ।

तर उनको हातमा टिकट नपर्दै खोसियो । उनको टिकट खोसेर विरेन्द्र कानौडिया कांग्रेसको आधिकारीक उम्मेदवार बने ।

देशैभर बाम-गठबन्धनको लहरमा टिकट विवादको चक्करमा कांग्रेस कपिलवस्तु रुमलियो । यादवले फेरि विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरे । कानौडिया विरुद्ध बागी लडेका यादव लोकप्रिय मत ल्याउँदै तेस्रो स्थानमा आए ।

कनौडियाले बाम-गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जावेल आलम खाँलाई पराजित गरे । कनौडियाले ६ हजार ६७९ मत पाउँदा खाँले ६ हजार ३०७ मत पाएका थिए । विद्रोही उम्मेदवार यादवले ५ हजार १५७ मत पाए ।

दुवै निर्वाचनमा कांग्रेसले टिकट नपत्याए पनि अन्ततः उनी कांग्रेसमा सक्रिय भए । पार्टीको चौथौं महाधिवेशन २०७८ को रमझममा उनी विजयनगर गाउँपालिकाको सभापतिको आकांक्षी भए । आफ्ना प्रतिस्पर्धी राजेश उपाध्यायलाई १ मतले हराउँदै उनी पार्टी सभापतिमा चुनिए ।

२०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्यो । फेरि उनी विजयनगर गाउँपालिकामा अध्यक्षको दाबेदार भए । फेरि पार्टीले उनलाई पत्याएन । कांग्रेसबाट रफिक महोम्मद मुसलमानले टिकट पाए । यादव विद्रोह गर्दै दल परिवर्तन गरी जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट उम्मेदवार बने । चुनावी नतिजा उनको पक्षमा आएन् । अध्यक्षमा एमालेका गोपाल थापा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भए । यादव दोस्रो भए । थापा र यादवको मतान्तर ५ सय ४ छ ।

पालिका अध्यक्षमा पराजित भएका यादव फेरि मंसिर ४ गतेको चुनाव लड्न तम्सिए । उनी जसपाबाट नै प्रदेश सभा सदस्यको आंकाक्षी थिए । तर उनको टिकट खोसियो । जसपाले लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवलाई उम्मेदवार बनायो ।

दाङ निवासी अशोक यो क्षेत्रबाट उम्मेदवार भए पछि जानकी रुष्ट मात्र भएनन् अन्ततः जसपा परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे ।

मंसिर ४ को निर्वाचनमा होमिएका यादवले अन्ततः राप्रपाबाट शानदार जित निकालेका छन् । पटक पटक चुनाव लडेर हार नखाएका यादवले बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विरेन्द्र कानौडिया र एमालेका उम्मेदवार रजार्उरहमान खाँलाई हराएका हुन् । यादवले यो निर्वाचनमा ८ हजार ५८२ मत पाउँदा एमालेका खाँले ७ हजार ९०७ मत पाएका छन् । निवर्तमान सांसद कानौडियाले ६ हजार ७९ मत पाए ।

प्रकाशित मिति : १४ मंसिर २०७९ बुधबार ००:००  १२ : ५१ बजे