१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पुस्तक पसलमा आगलागी, २० लाखको क्षति



लमजुङ ।

विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलको सञ्चालन गरेको स्टेश्नरी पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पौडेलले विगत १० वर्षदेखी खुदीमा स्टेश्नरी पसल सञ्चालन गर्दै आएका थिए ।

आगलागीबाट पसलमा रहेको स्टेश्नरी सामाग्री साथै कम्प्युटर, ल्यापटप, डिएसएलआर क्यामरा, फोटोकपी, प्रिन्टर, कुर्चीटेवलसहितका सामाग्री जलेको प्रोप्राइटर विमल पौडेलले जानकारी दिए । आगलागीबाट पसलको सामाग्री जल्नुको साथै कोठाको ढोका, सटर, सिलिङ र भित्तासमेत क्षति पुगेको छ । घरधनी भण्डारीले माथिल्लो तलामा रहेको कोठाका ३ वटा झ्याल फुट्नुको साथै, पिल्लर र भित्तो चर्किएको बताए । उनले बरण्डामा सुकाएको कपडासमेत जलेको बताएका छन् ।

आगोको लप्काले सोही घरमा रहेको होटल र हेयर कटिङ पसलमा समेत क्षति भएको छ । आगोले छिमेकी बुद्धीबहादुर तामाङको घरका सिसासमेत फुटाएको स्थानीयले बताएका छन् । खुदी प्रहरी चौकीका सई प्रेमराज शर्माका अनुसार पुस्तक पसलको १२ लाख, घरको ६ लाख, बसिर हेयर कटिङ पसलको १ लाख, गौमाया गुरुङको खाजा पसलको ४० हजार, बुद्धीबहादुर तामाङको घरमा २० हजार बराबरको क्षति पुगेको छ । पुस्तक पसलका प्रोप्राइटर पौडेलले भने आफ्नो पसलको मात्र १५ लाख बराबरको क्षति भएको दावी गरेका छन् ।

राती वर्ल्डकप फुटबल खेल हेरेर फर्किएका स्थानीय युवाहरुले आगलागी भएको देखेका थिए । उनीहरूले वरपरकालाई सुचित गरि सुरक्षित स्थानमा सार्नुका साथै पानी हालेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९ आइतबार ००:००  ५ : ५७ बजे