१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दाङको टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु



तुलसीपुर ।
दाङको तुलसीपुर–१२, टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’ सुरु भएको छ ।

नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चार सय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए । ‘हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्‍यौँ’, उनले भने, ‘अब नियमित रिफ्युलको कार्य हुनेछ ।’

शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल भएको हो । डिपो निर्माण नहुँदा यसअघि काठमाडौंबाट इन्धन बोकेर आउनुपर्थ्यो । सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए । ‘यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौंबाटै ल्याउनुपर्ने हुन्थ्यो’, उनले भने, ‘अब भने त्यो समस्या हट्नेछ ।’ इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ ।

टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ । नियमित विमानसेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पुर्‍याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए । इन्धन तत्काल आवश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउनेसमेत प्रमुख श्रेष्ठले बताए । ‘हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौँ’, उनले भने, ‘कहिल्यै नेपाली सेनाको हेलिकप्टर आकस्मिक रुपमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ति गर्छौं ।’

विगत ६ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुई जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो । यो चौथो प्रयासपछि मात्रै रिफ्युल भएको हो । यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन ।

डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतबार रिफ्युल कार्य गरिएको हो । टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे टुइनेटर जहाज सञ्चालनमा छ ।

एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् । दाङ–काठमाडौं हवाई भाडा न्यूनतम भाडा आठ हजार आठ सय १० छ भने अधिकतम १२ हजार छ सय ६५ रहेको छ । काठमाडौंभन्दा दाङ आउँदा भने दुई सय रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ । काठमाडौंमा यात्रु सेवाबापत पाँच सय र दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुई सय बढी लाग्ने गर्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९ सोमबार ००:००  ८ : ५३ बजे