८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

परिवार भित्र विद्रोह गर्दै बंगुरपालन थालेकी माया भाट



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा-१० भावपुरकी माया भाट क्षेत्रीले परिवारबाट विद्रोह गर्दै बंगुरपालन पेशा अंगाल्नुभयो ।

क्षेत्री समुदायले बंगुर छुन पनि हुँदैन् भन्ने मान्यता रहे पनि मायाले उक्त मान्यता तोड्दै बंगुर पालनमा हात हाल्नुभएको हो ।

बंगुरपालन गरेपछि आफ्नो पारिवारिक दबाब सम्झदै उहाँ भन्नुहुन्छ, ‘यो पेशा अंगाले देखि मेरो घरमा करिब तीन बर्ष कुनै आफन्त आएनन् ।’

घरको आर्थिक स्थिति कमजोर भएपछि विकल्पको रुपमा बंगुरपालनमा लागेको उहाँ सुनाउनुहुन्छ ।

‘आम्दानीको स्रोत केही भएन् । ठूलो लगानीको लागि आर्थिक स्थिति थिएन् । सानो लगानीबाट राम्रो आम्दानी हुने देखेपछि बंगुरपालन थालेको हुँ,’ उहाँले भन्नुभयो ।

सुरुवातमा बंगुर पालन थाल्दा घरमा ठूलो विद्रोह गर्नुपरेको उहाँ बताउनुहुन्छ ।

‘अहिलेसम्म नगरेको पेशा गर्न थालेपछि घरमा ठूलो विद्रोह भयो । यो स्वभाविक नै थियो । तर, यो पेशा गर्न मेरो रहर थिएन बाध्यता थियो । बाध्यताले घर भित्रको विद्रोहलाई प्रवाह नगरी बंगुरपालन थाले । अहिले राम्रो आम्दानी भएको छ’, उहाँ भन्नुहुन्छ ।

सुरुवातमा एउटा बंगुरबाट थाले पछि अहिले १५ वटा छन् । उहाँले यो पेशा अंगालेको ५ बर्ष वितेको छ ।

‘यहीबाट कक्षा १० सम्म छोरी पढाउन सकेको उहाँ सुनाउनुहुन्छ । घरखर्चो पनि यसैबाट चलाएकी छु,’ मायाले भन्नुभयो ।

एक जना छोरीसहित मायाको तीन जनाको परिवार हो । कोभिड महामारीले गर्दा श्रीमान बैदेशिक रोजगारीबाट स्वदेश फिर्ता भएका थिए ।

सानो लगानीमा सुरु भएको बंगुरपालनमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण परियोजना (सिड्स) ले थप आर्थिक सहयोग गरेपछि व्यवसायमा बृद्धि भएको हो ।

स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा सीडस् कार्यक्रम चार वर्षदेखि कपिलवस्तुको वाणगंगा सञ्चालनमा रहेको छ । वाणगंगा नगरपालिकाको समन्वयमा नगरका ३ वटा वडामा यो कार्यक्रम सन्चालन भएको कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक आरटी खानले बताउनुभयो ।

महिलाले गरेको मेहनत देखे पछि गैरसरकारी संस्था सिद्धार्थले ४० हजार सहयोग गरेको छ । उक्त सहयोगले बंगुर व्यवसायमा थप सहयोग पुगेको छ ।

‘सानो लगानीमा थालेको पेशामा सिद्धार्थ सामाजिक विकास केन्द्रले सहयोग गरेपछि केही राहत मिल्यो,’ उहाँले भन्नुभयो ।

बंगुरपालन पेशा सुरुवाती चरणमा राम्रो भएपनि अहिले सोचे जस्तो छैन् । धेरै जनाले यो पेशा अंगालेका कारण आजभोलि बजारको भाउ खासै नभएको उहाँले बताउनुभयो । बंगुर बेच्न समस्या नभए पनि बजार भाउमा आउने उतारचढावले समस्या पर्ने गरेको उहाँले सुनाउनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७९ बुधबार ००:००  ४ : ३६ बजे