१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सडक अतिक्रमण हटाउने तयारीमा बुद्धभूमि



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण हटाउने गृहकार्य थालेको छ । नगरपालिकाले एक सार्वजनिक सूचना निकाल्दै नगर क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग तथा नगरका अन्य सहायक सडक तथा बाटोको छेउछाउमा पशु चौपाय बाँध्ने, सडक किनारामा विस्कुल सुकाउने, सडकका नाली अतिक्रमण गर्ने, निर्माण सामग्री राख्ने कार्य बन्द गर्न आग्रह गरेको छ ।

सडक अतिक्रमणले समग्र सर्वसाधारणको आवमगनमा प्रभावित पारेको, सडक सौन्दर्यतामा कुरुप हुने एव्म दुर्घटनाको जोखिम बृद्धि तथा वातावरण दुषित हुने समेतको सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै सडक दुर्घटना न्यूनिकरण गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउनका लागि यस्तो कार्य गर्न थालेको नगरपालिकाले स्पष्ट पारेको छ ।

आगामी १५ दिन भित्र नगरबासीलाई तोकिएका मापदण्ड पालना गर्न आग्रह गर्दै अन्यथा अटेरी गरे कानुन अनुसार कारबाही थालिने नगरपालिकाले चेतावनी दिएको छ ।

नगरपालिकाले सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ को उपदफा १ मा भएको कानुनी अधिकारको प्रयोग गरेको पनि बताएको छ ।

साथै स्थानीय सरकार सन्चालन ऐन, २०७४ को दफा ४५ उपदफा १ मा दिइएको अधिकार पनि प्रयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७९ शुक्रबार ००:००  २ : २० बजे