७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण अंग सहकारी हो : प्रदेश सभा सदस्य पन्थी



अनिश बन्जाडे, जितपुर ।

नेपाली अर्थतन्त्रका लागि सहकारी महत्त्वपूर्ण अंगको रुपमा रहेको लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले बताउनुभएको छ ।

शुक्रबार दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । निजी, सहकारी र सरकारी तीन किसिमकै अर्थब्यवस्थाको बिकास जति गर्न सकियो उति नै मुलकको अर्थब्यवस्था माथि उकास्न सकिने बताउँदै सहकारीको माध्यमबाट देशको बेरोजगारी समस्या समाधान गर्न सकिनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।

यस्तै सहकारीले बर्तमान समयमा गरेको आर्थिक उपलब्धिको प्रशंसा गर्दै सांसद पन्थीले मुलुकका सबै सहकारीले अब उत्पादनका क्षेत्रमा लगानी गर्नका लागि सुझाव दिनुभयो । सहकारी मार्फत संकलन भएको सामुहिक बचतको सदुपयोग अब उत्पादन क्षेत्रमा केन्द्रिकृत गर्दै नेपाली अर्थतन्त्रलाई मजबुत बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै पन्थीले देश धनी भएमा समग्र राज्यकै ईज्जत बढ्ने पनि धारणा राख्नुभयो ।

यस्तै लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचार्यले सहकारीले आर्थिकसंगै सामाजिक दुबै क्षेत्रलाई समायोजन गर्दै अगाडी बढेको बताउनुभयो । बर्तमान समयमा कपिलवस्तुमा धेरै सहकारीको उदय भैरहेको अवस्थामा यसले अर्थतन्त्रलाई उकास्नमा ठूलो योगदान गरेको तर्क राख्नुभयो ।

यस्तै सहकारीका सल्लाहकार झलक मल्ल ठकुरीले सहकारी बिकास र बिस्तारका लागि बचत आवश्यक पर्ने भएकाले दर्शन बचत तथा ऋण सहकारी संस्था पनि शेयर सदस्यहरुको बिस्तारमा तत्परताका साथ लागेको बताउनुभयो । सुरुवाती चरणमा ३ सय २८ जना शेयर सदस्य रहेकोमा अहिले बढेर करिब १३ सयको हारहारीमा पुग्नु सहकारीको महत्वपूर्ण उपलब्धी रहेको बताउनुभयो ।

साधारण सभामा गत बर्षको प्रस्तावित कार्यक्रम र उपलब्धीका बारेमा सहकारी सचिव निर्मल कुमार शाहीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारीका कोषाध्यक्ष मुक्ति बहादुर मल्लले गत बर्षको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको र यी दुबै प्रतिबेदन सर्बसहमतबाट पारित पनि भएको छ ।

सहकारीको प्राङगणमा आयोजना गरिएको १५ औँ बार्षिक साधारण सभामार्फत ज्येष्ठ शेयर सदस्य महिला, पुरुष, असल ऋणी, असल बचतकर्ता, असल ब्यवसायी लगाएतलाई नगद र कदरपत्रले सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष कृष्ण बहादुर शाही (बिजय) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष छबि रेश्मी मगरले शुभकाना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष, सल्लाहकार, लेखा परिक्षक, शेयर सदस्य, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहकारीका सचिब निर्मल शाहीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १ पुस २०७९ शुक्रबार ००:००  ५ : ४१ बजे