११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

सामुदायिक पोखरी आम्दानीका स्रोत, माछापालनमा जम्दै जीतबहादुर



मायादेवी अनलाइन, बाणगंगा ।
सामुदायिक पोखरी स्थानीयस्तरमा आम्दानीका गतिला स्रोत बनेका छन् । बर्खामा पानी संकलन गर्ने र हिउँदमा सिंचाईका लागि प्रयोगका लागि बनाइएका पोखरीहरु आम्दानीका गतिला माध्यम बनेका हुन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १० पटनाका सामुदायिक पोखरी भाडामा लिएर माछापालन थाल्नुभएका जीतबहादुर चौधरीले बार्षिक रुपमा राम्रो कमाई गर्नुहुन्छ ।

चौधरीले पटनामा १४ कठ्ठा क्षेत्रफलमा रहेका दुई पोखरी भाडामा लिनुभएको छ । ५ बर्षका लागि भाडामा लिनुभएको पोखरीमा माछापालन गर्नुभएको छ ।

माछापालन थाल्नु अगाडी चौधरी आम्दानी हुने कुनै पनि स्रोत नहुँदा चिन्तामा हुनुहुन्थ्यो । ८ बर्ष रोजगारीका लागि खाडी मुलुक गएर पनि चौधरीको आर्थिक जीवनमा खासै बदलाव आएन ।

कोरोना भाइरसको महामारीमा उहाँ घर फर्कनुभयो । उमेरले पनि साथ दिन छाडे पछि उहाँको बैदेशिक रोजगार प्राथमिकतामा परेन् । घरखर्चो कसरी चलाउने भन्ने चिन्तामा रहनुभएका चौधरीलाई सिद्धार्थ सामाजिक विकास केन्द्रबाट स्ट्रोम फाउण्डेसनको सहयोग मिल्यो ।

सिड्स परियोजनाले कोभिड-१९ मा रोजगारी गुमाएका घरपरिवारलाई स्वरोजगारका लागि विभिन्न काम गर्दै आएको थियो । त्यहीँ क्रममा चौधरी सिड्ससंग जोडिन पुग्नुभएको हो । दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण परियोजना (सिड्स) ले उहाँलाई नगद ४० हजार सहयोग गर्‍यो । उक्त पैसाबाट चौधरीले माछापालन थाल्नुभएको हो ।

‘सिद्धार्थबाट मिलेको सहयोगले माछाका भुरा किने । अहिले उक्त माछाबाट आम्दानी गरिरहेको छु,’ उहाँले भन्नुभयो ।माछाबाट डेढ लाख बढी आम्दानी गरिसक्नुभएका चौधरीले पछिल्लो चरणको माछा विक्री गर्दै हुनुहुन्छ ।

‘माछा बेच्न समस्या छैन् । ग्राहक पोखरीमै आएर माछा लैजान्छन्’, चौधरी भन्नुहुन्छ, ‘माछापालन जिविकोपार्जनको गतिलो माध्यम हो ।’

ठूलो लगानीमा माछा पाल्न नसके पछि सामुदायिक पोखरी भाडामा लिएर माछा पाल्दा घरासयी खर्च टर्ने र सामान्य बचत पनि गर्न सकिने उहाँको भनाई छ ।

प्रकाशित मिति : ५ पुस २०७९ मंगलबार ००:००  १२ : ३३ बजे