६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

भारतबाट बढेर आए पनि इन्धनको मूल्य यथावत्



काठमाण्डौ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार हिजो आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो ।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ । भारतबाट मूल्य बढेर आए पनि नेपालमा भने यथावत् नै रहने निगमले जनाएको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ ।

अहिले मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ रहेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ८ : १९ बजे