४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपाल टी-२० मा पोखराको तेस्रो जित



काठमाडौं ।

काठमाडौं नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा तेस्रो जित हात पारेको छ ।

पोखराका लागि ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै पोखराको जितको आधार तय गरेका थिए ।

जितका लागि १६५ रनको लक्ष्य पछ्याएको पोखराका लागि सुमितले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका हुन् । कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । उनले ४९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । चौथो विकेटका लागि सुमित आउट हुँदा पोखरालाई जितका लागि ७ बलमा ७ रनको आवश्यकता थियो । तर पाँचौ विकेटका रुपमा सिदार्थ लोहनी २ रनमै आउट भए । उनी आउँट हुँदा पोखरालाई जितका लागि अन्तिम ४ बलमा ४ रन चाहिएको थियो ।

त्यसपछि आएका ब्याटर अमिर हम्जाले लेग बाई रन पाए र कुशल मल्ल स्ट्राइकमा आए ।२ बलमा २ रन चाहिएको स्थितिमा कुशल मल्लले छक्का प्रहार गर्दै पोखरालाई जिताए । काठमाडौं नाइट्सका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल र अभिनाश बोहोराले समान १–१ विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रन बनाए । उनले २८ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै आक्रमक ब्याटिङ गरेका थिए ।

ओपनरद्वय विरनदिप सिंह र सुमन गौतमले क्रमशः ३२ र ४५ रन बनाए । पोखराका लागि तुल थापाले सर्वाधिक २ विकेट लिए । प्रतिश जिसी र कुशल मल्लले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  १२ : ५५ बजे