७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

लुम्बिनीको बाँकेमा बाल-बालिकामा दादुरा, एक बालकको मृत्यु



बुटवल ।

लुम्बिनी प्रदेशको बाँके स्थित नेपालगञ्ज उपमहानगरमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज-५ का ३१ महिना उमेरका बालकको मृत्यु भएको हो ।

शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले जनाएको छ। ती बालकमा दादुराको लक्षण देखा परेको थियो। ज्वरो आउने, शरिरका विभिन्न भागमा राताराता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेको थियो।

वडा नम्बर ५ मा ८ जना बालबालिकामा उच्च ज्वरोसहित दादुराका लक्षण देखा परेको महाशाखानले जनाएको छ । सोही वडाको एक घरका ४ जना बालबालिकामा यसअघि पनि दादुरा पुष्टि भएको थियो। दादुराको आशंकामा परीक्षण गरिएको र पोजेटिभ देखिएको उपमहानगरले जनाएको छ।
नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा बुधबारसम्म २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेका छन्।

उनीहरूको उपचार भइरहेको छ। उनीहरूलाई दादुराको खोप लगाइएको थिएन। नेपालबाट सन् २०२३ सम्म दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिइएको छ।

प्रकाशित मिति : २१ पुस २०७९ बिहिबार ००:००  १२ : ०६ बजे