१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

केपी ओली भन्छन्ः सरकारले विश्वासको मत पाउँछ



काभ्रेपलाञ्चोक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।

पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतवार आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोहमा उहाँले आउँदो मङ्गलवार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता कार्यकर्तालाई ढुक्क रहन आग्रह गर्नुभयो । ‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईँहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताउनुभयो । ‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झन्ड दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ’, उहाँले भन्नुभयो । उहाँले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताउनुभयो ।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताउनुभयो । ‘चुनावअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना चुनावपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली नागरिक खुसी छन्’, उहाँले भन्नुभयो ।

एमालेमा जनसङ्गठनको असाधारण महत्त्व रहेको उहाँको धारणा थियो । सोमवारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७९ सोमबार ००:००  ६ : ३२ बजे