१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

‘नेपालमा घुस खानु, भ्रष्टाचार गर्नु नैतिक अधिकारजस्तो भयो’



काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले सङ्घीयतालाई बचाउन नसकिने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुपर्नेमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो । उहाँले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको टिप्पणी गर्नुभयो । उहाँले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरू सत्तामा कसरी जाने रु र जुनसुकै मूल्य चुकाएर भए पनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको बताउनुभयो । 

अध्यक्ष केसीले चुनावमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको भन्दै यो अवस्था अहिलेका राजनीतिक दलहरूले थुपारेको बताउनुभयो । राजनीतिक पार्टी, नेता, सांसद, मन्त्रीहरूप्रति नागरिकको आस्था नरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि धेरैले पानी खाँदै वकालत गरेको मैले सुनेको थिएँ, देश स्विट्जरल्यान्ड बन्छ, भयो त त्यस्तो रु देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका सार्वजनिक कलकारखाना निजीकरण गर्ने, व्यक्तिलाई दिने । देशमा मन्त्रीको सङ्ख्या बढी भयो भने, सांसदको सङ्ख्या बढी भयो भने अर्थतन्त्रले धान्छ । अहिले पनि देश बेवारिसे नै छ । जुनसुकै मूल्य चुकाएर भए पनि सत्तामा जाने भन्ने मानसिकता छ । चुनाव लडिसक्नु, गइनसक्नु भइसकेछ । राजनीतिक पार्टीप्रति, नेता, सांसद, मन्त्रीहरूप्रति जनताको आस्था छैन । पार्टीका कार्यकर्तालाई यही संस्कृति सिकाइराख्यौँ भने हामीले देश जोगाउन सक्दैनौा । सङ्घीयता जोगिनै सक्दैन ।’ 

अध्यक्ष केसीले न्यायालयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबै कुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताउनुभयो । नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकारजस्तो भएको उहाँको भनाइ छ । 

प्रकाशित मिति : २५ पुस २०७९ सोमबार ००:००  ७ : १४ बजे