१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

यी हुन् एमालेका सभामुख आकांक्षी



काठमाडौं ।

सत्ता गठबन्धनको भागबण्डाअनुसार प्रतिनिधि सभाको सभामुख नेकपा (एमाले) को भागमा परेको छ।

पहिलो साढे दुई वर्ष एमाले र त्यसपछि माओवादी केन्द्रले सभामुख लिने सहमति छ। संसद सचिवालयले माघ ५ गते सभामुखको चुनाव गर्न लागेको छ। सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरूङसहित झन्डै आधा दर्जन सांसदले दाबी गरेका छन्।

सभामुखको निर्वाचन नजिकिँदै गर्दा सभामुखको लागि उनीहरूले आफ्ना पक्षमा लबिङ पनि सुरू गरेका छन्। सभामुखको चाहना गर्नेमा गुरूङसहित एमाले सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्यहरू रघुजी पन्त, देवराज घिमिरे र केन्द्रीय सदस्य विद्या भट्टराई छन्।

सभामुखमा दाबी गरेका उपमहासचिव गुरूङ लमजुङबाट निर्वाचित भएका हुन्। उनी गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन्। २०६४ सालमा पहिलो संविधानसभामा निर्वाचित भएका गुरूङ पर्यटन मन्त्री भइसकेका छन्। गुरूङ अहिलेको एमाले माओवादी गठबन्धनका सुत्राधारसमेत हुन्।

एमाले सचिव छविलाल विश्वकर्मा रूपन्देही(१ बाट निर्वाचित भएका हुन्। २०७४ मा समेत सोही क्षेत्रबाट निर्वाचन जितेका विश्वकर्मा २०६४ मा समानुपातिक तर्फबाट सांसद बनेका थिए। उनी २०६३ मा कृषि मन्त्री भएका थिए।

एमाले स्थायी कमिटी रघुजी पन्त समानुपातिक तर्फबाट सांसद बनेका हुन्। उनी २०५१ र २०५६ मा ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन्। २०६० सालमा श्रम मन्त्री बनेका पन्त २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका प्रमुख राजनीतिक सल्लाहकारसमेत बनेका छन्। उनी एमालेमा अन्तरसंघर्ष हुदा लामो समयसम्म माधव नेपालको पक्षमा थिए। पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि भने उनी एमालेमै रहेका हुन्।

अर्का स्थायी कमिटी सदस्य देवराज घिमिरे झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। एक पटक राष्ट्रिय सभा सदस्य भएका घिमिरे पहिलो पटक प्रतिनिधि सभामा आएका हुन्। ‘लो प्रोफाइल’मा बस्न रुचाउने घिमिरे जनतामा भन्दा कार्यकर्तामाझ धेरै लोकप्रिय छन्।

एमाले केन्द्रीय सदस्य विद्या भट्टराई कास्की क्षेत्र नं २ बाट निर्वाचित भएकी हुन्। उनी यसअघि सोही क्षेत्रमा भएको उपनिर्वाचनबाट विजयी भएकी थिइन्। आफ्ना श्रीमान तत्कालीन पर्यटन मन्त्री रहेका रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकप्टर दुर्घटनमा मृत्यु भएपछि भट्टराई सक्रिय राजनीतिमा आएकी हुन्। त्योभन्दा पहिला उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक थिइन्। यद्यपी विद्यार्थी कालमा भने उनी सक्रिय राजनीतिमा थिइन्। उनी अनेरास्ववियुको कोषाध्यक्षसम्म भएकी थिइन्।

सभामुखको लागि नेताहरूले आ-आफ्नो दाबी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहेको व्यक्तिबाहेक अरू उम्मेदवार हुन नसक्ने एमालेका एक पदाधिकारीले बताए। ‘सभामुख हुने चाहना त धेरैको हुनसक्छ। तर अध्यक्षले कसलाई चाहनुभएको छ भन्ने मुख्य कुरा हो,’ ती पदाधिकारीले भने,‘पार्टी अध्यक्षले आफूले नजिकबाट विश्वास गर्ने नेतालाई सभामुख बनाउनुहुन्छ। त्यो कुरा माघ ५ गते नभई थाहा हुँदैन।’

प्रकाशित मिति : २८ पुस २०७९ बिहिबार ००:००  १२ : ५२ बजे