१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

दुर्घटनाग्रस्त जहाजभित्र खिचिएकाे भिडियो मिथ्या



काठमाडौैं ।

यती विमान दुर्घटनामा परेपछि आइतबार साँझपखबाट सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो नक्कली भएको बताइएको छ ।

भारतीय नागरिक सोनु जैसवालले लाइभ गरेको भनेर भारतीय मिडियाका साथै नेपालका अनलाइनले पनि त्यसलाई सेयर गरेका थिए । दुर्घटनाको डेढ मिनेट अघि भिडियो लाइभ भएको र लाइभ हुँदाहुँदै दुर्घटना भएको देखिने उक्त भिडियोमा कुनै सत्यता नरहेको एयरलाइन्सले जनाएको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुुसार सामाजिक सञ्जालमा भाइरल भइरहेको त्यो भिडियो अहिलेको होइन । विमान आकाशमै हुँदा लाइभ भिडियो गर्न नेटवर्कले साथ दिँदैन । “सामाजिक सञ्जालमा निकै भाइरल भएको भिडियो आइतबार दुर्घटना भएको विमानको होइन । उनी तीन वर्षअघि पनि नेपाल आएर पोखरा घुम्न गएका थिए । सायद त्यही बेला बनाएको हुनुपर्छ । पछि सम्पादन गरेर लाइभ भिडियो भनेर भाइरल भएको हुनुपर्छ ।” उहाँले भन्नुभयो, “जहाज आकाशमै रहँदा नेटवर्कले काम गर्ने सम्भावना ज्यादै न्यून हुन्छ । विमान भित्रबाट लाइभ भिडियो गर्न मिल्दैन ।”

भित्र फोटो र भिडियो खिच्नु स्वभाविक भए पनि भित्रैबाट लाइभ गर्न नमिल्ने उहाँले बताउनुभयो। यो पहिलेको भिडियोलाई सम्पादन गरेर अहिले आइरल बनाइएको हुनसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “विमान भित्रबाट बाहिरी दृश्यहरुको फोटो र भिडियो खिच्नु स्वभाविक भए पनि लाइभ भिडियो नै गर्न भने मिल्दैन । यो पहिले खिचेको भिडियोलाई पछि सम्पादन गरेर दुर्घटनाका दृश्यहरू राखेर सेयर गरिएको हुनसक्छ ।”

अहिले जैसवालको मोबाइललाई फरेन्सिक ल्यावमा पठाइएको र त्यसको रिपोर्ट आएपछि नैै वास्तविकता बाहिर आउने उहाँ बताउनुहुन्छ । यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला पनि उक्त भिडियो मिथ्या रहेको स्वीकार्नुहुन्छ ।

उहाँले भन्नुभयो, “भुँइबाट त लाइभ गर्दा नेटवर्कले राम्रोसँग काम गरेको हुँदैन । विमान आकासमै उडिरहेको समयमा आकाशबाट लाइभ गर्नु सत्य होइन । ”

भिडियोको प्रकृति हेर्दा भिडियोमा भएको व्यक्ति यती एयरको विमानमै सवार भएजस्तो नदेखिने उहाँको तर्क छ । निरौलाले भन्नुभयो,“सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएको व्यक्तिकै पछाडिको सिट पनि रातो–रातो देखिन्छ तर यतीको सिटमा त्यस्तै छैन, हरियो रंग छ । यसबाट पनि पुष्टि हुन्छ ।”

६८ यात्रु र चार चालक गरी ७२ सवार काठमाडौैंबाट पोखराका लागि उडेको विमान आइतबार बिहान पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो। ल्याण्डिङको अनुमति पाइसकेको विमान धावनमार्गबाट एक हजार ७०० मिटर मात्र टाढा थियो । १० सेकेन्डमै अवतरण हुनुपर्ने विमान अनियन्त्रित हुँदै सेती खोँचमा बजारिन पुग्यो र दुर्घटनाग्रस्त भयो ।

दुर्घटनामा अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने बाँकी चार जनाको खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७९ सोमबार ००:००  ४ : १३ बजे