१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चीनको जनसङ्ख्या अघिल्लो वर्षको भन्दा साढे आठ लाखले घट्यो



एजेन्सीँ ।

चीनको जनसङ्ख्या ६० वर्षपछि पहिलोपटक घटेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा चीनको जनसङ्ख्या आठ लाख ५० हजारले घटेको चीनको राष्ट्रिय तथ्याङ्क विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसअघि सन् १९६१ मा पनि चीनको जनसङ्ख्या घटेको थियो ।

सन् २०२२ मा चीनको जन्मदर प्रति एक हजार महिलामा ६ दशमलव ७७ जना रहेको छ । यसअघि सन् २०२१ मा जन्मदर प्रति एक हजार महिलामा ७ दशमलव ५२ जना रहेको थियो । एक सन्तान नीतिका कारण चीनको जनसङ्ख्या वृद्धिद्धर वर्षौँदेखि घटिरहेको छ ।

जनसङ्ख्या घट्दै गएपछि चीन सरकारले सात वर्ष अघि एक सन्तान नीति खारेज गरेको थियो । तर एक सन्तान नीति खारेज गरेको सात वर्षपछि जनसङ्ख्या नकरात्मकतर्फ गएको छ । यस्तै सन् २०२२ मा मृत्युदर पनि अहिलेसम्मकै धेरै भएको छ । यसअघि सन् १९७६ मा सबैभन्दा धेरै सात दशमलव ३१ प्रति एक हजार मानिसको मृत्यु भएकोमा गएको वर्ष प्रति एक हजार जनामा सात दशमलव ३७ जनाको मृत्यु भएको छ ।

सन् २०२२ मा चीनमा जन्मभन्दा मृत्यु धेरै भएको छ । चीनमा यसअघिको सरकारी तथ्याङ्कले जनसाङ्ख्यिकीय सङ्कटको घोषणा गरेको थियो । जनसङ्ख्या घट्नुले चीनको श्रमशक्तिलाई सङ्कुचित बनाउनुको साथै स्वास्थ्य सेवा र अरु सामाजिक सुरक्षा लागतहरूमा भार बढाउनेछ ।

घट्दो जन्मदरका कारण एसियाका अरु विकसित देशहरु दक्षिण कोरिया र जापानको अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ । चीनमा पनि यही अवस्था आउन सक्ने त्यहाँको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९ मंगलबार ००:००  ११ : ५६ बजे