८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शुभमन गिलको दोहोरो शतक, न्युजिल्याण्ड पराजित



एजेन्सी ।
भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ ।

माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले १-० को अग्रता बनाएको छ ।

जितका लागि ३ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९ ओभर २ बलमा ३ सय ३७ रनमा अलआउट भयो । न्युजिल्यान्डका ब्रेसवेलले सर्वाधिक १ सय ४० रन बनाए ।

भारतका मोहम्मद शिराजले ४ तथा कुलदीप यादव र शार्दुल ठाकुरले समान २ विकेट लिए ।

त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो ।

भारतका शुभमन गिलले दोहोरो शतकीय पारी खेले । गिल एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने विश्वका आठौं ब्याट्सम्यान तथा भारतका पाँचौं खेलाडी बनेका छन् ।

न्युजिल्यान्डका हेनरी शिफ्ले र डर्याल मिचेलले दुई/दुई विकेट लिए । दोस्रो खेल शनिवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०७९ बिहिबार ००:००  ६ : ४८ बजे