८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उपसभामुखको चुनाव आज, को को भीड्दैछन् ?



काठमाडौं ।
प्रतिनिधि सभाको उपसभामुखको लागि आज चुनाव हुँदैछ । उपसभामुख चयनका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ । उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र विपक्षीबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको हो । इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

यस्तै मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । सांसदहरुको सङ्ख्याका आधारमा उपसभामुखमा रानामगरको जित निश्चित छ ।

उहाँको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् । यस्तै स्वतन्त्र तीन सांसदले पनि साथ दिँदा रानामगरको पक्षमा १६९ सांसद हुनेछन् ।

यादवको पक्षमा नेपाली कांग्रेसका ८८, एकीकृत समाजवादीका १० र लोसपाका ४ सांसद मात्रै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । सभामुखमा सत्ता गठबन्धनको तर्फबाट एमालेका देवराज घिमिरे चयन भइसक्नुभएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९ शनिबार ००:००  ८ : २१ बजे