१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

राष्ट्रियसभा सदस्य उपनिर्वाचनः लागि तीन दलले गरे मनोनयन दर्ता



दाङ ।
लुम्बिनी प्रदेशबाट माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा तीन दलबाट उम्मेदवारी परेको छ।

सत्तारूढ दलमध्येबाट नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट छुट्टाछुट्टै मनोनयन दर्ता भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पनि उम्मेदवारी दर्ता भएको छ।

सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले रोल्पाबाट उम्मेदवार खडा गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले भने फरक प्रदेशका व्यक्तिलाई ल्याएर मनोनयन दर्ता गराएको छ।

एमालेबाट कुमार दसौदी र कांग्रेसका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले सेतोपाटीलाई बताए। राय सल्यान जिल्लाका हुन्। त्यसैले उनी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन्। फरक प्रदेशको व्यक्तिले मनोनयन दर्ता गराउन मिल्छ कि मिल्दैनरु भन्ने प्रश्नमा लुम्बिनी प्रदेश निर्वाचनका प्रमुख नारायणप्रसाद भण्डारीले त्यसबारे यही १६ गतेसम्म हुने छानबिन पछि मात्रै भन्न सकिने बताए।

‘अहिले एउटा कुनै पालिका भन्ने छ र प्रदेश भनिएको छैन,’ उनले भने, ‘त्यसबारे छानबिन पछि मात्रै न्यायाधीशज्यूले के गर्नुहुन्छ त्यसपछि मात्रै थाहा हुन्छ।’

मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको र त्यो अवधिका तीन जनाको मनोयन परेको सूचना अधिकारी कुँवरले बताए।

माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघ १३ र १४ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका छ।

एमालेका केन्द्रीय सदस्य दसौदीको समर्थकमा राप्रपाकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल बसेका छन्। मनोनयन दर्ता गर्दा लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा दाङ घोराहीस्थित निर्वाचन कार्यालयमा आएका थिए।

कांग्रेसका रोल्पा पूर्व जिल्ला सभापति आचार्यको प्रस्तावकमा दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी बसेका छन्।

उनको मनोनय दर्ताको क्रममा जिल्ला र प्रदेशका कांग्रेस नेताहरू पुगेका थिए।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रायको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी बसेका छन्। उम्मेदवारी दर्ता गर्दा उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि निर्वाचन कार्यालय दाङमा आएकी थिइन्।

सत्ता गठबन्धनमै रहेको भए पनि किन नागरिक उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएको होरु भनेर सोध्दा अध्यक्ष श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरू गठबन्धन दलभित्र नरहेको जवाफ दिएकी थिइन्।

‘सरकारलाई विश्वासको मत दिए पनि हामी प्रतिपक्षको बेञ्चमा छौं,’ उनले भनेकी थिइन्, ‘हामीले उठाउँदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई हाम्रो सहयोग रहँदैन।’

उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने जवाफ दिएकी थिइन्। तर यसअघि पुस २७ गते एमालेका राजेन्द्र रावल नागरिक उन्मुक्ति पार्टीकै समर्थनमा मुख्यमन्त्री बनेका थिए।

उनले सत्ता गठबन्धनमा रहेर यसअघि आफूहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको र सुदूरपश्चिमका मुख्यमन्त्रीलाई पनि समर्थन गरेको भए पनि न्यायको मुद्दा सम्बोधन नहुँदासम्म विपक्षी बेञ्चमा बस्ने तथा उम्मेदवारी फिर्ता नलिने दाबी गरेकी थिइन्।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदपूर्तिका लागि उपनिर्वाचन हुन थालेको हो। जसका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २र२ तथा राप्रपा र जनता प्रगतिशीलले १र१ स्थानमा जितेका छन्।

प्रदेश सभामा ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४र४, जसपा, लोसपा र जनमतले ३र३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १र१ र स्वतन्त्रबाट २ जनाले जितेका छन्।

प्रकाशित मिति : ११ माघ २०७९ बुधबार ००:००  ५ : ५३ बजे