८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल–भारत सम्बन्ध बहुआयामिक छः पूर्व राजदूत उपाध्याय



काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर हुनुपर्ने बताएका छन् । भारतको ७५ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बुधबार आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीचमा रहेका समस्या पनि हल गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘भारतले भोलि आजादिका महोत्सव मनाउने भनेको छ । यो सुखद अवसरमा भारत सरकार र भारतीय जनतामा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।’

नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको उनको भनाइ छ । वैदिक, सनातन, धर्म र संस्कृतिमा दुई देशबीच गहिरो सम्बन्ध रहेको उनले बताए । ‘जहाँ प्रगाढ सम्बन्ध हुन्छ, त्यहाँ समस्या पनि अन्तरनिहीत छ’ नेता उपाध्यायले भने, ‘राजदूतको रुपमा मैले काम गर्दा, दुई वर्ष मैले भुकम्प र नाकाबन्दीको बेलामा अप्ठ्यारो अवस्थामा कुटनीतिक सेवा गर्ने मौका पाएँ ।’

भारतलाई पनि नेपालको अत्यन्तै ठूलो साथ र सहयोग रहेको उनले बताए । उनले भने, ‘उनीहरुको उद्योग र व्यवसायमा हाम्रो योगदान छ । भारतीय सेनामा हाम्रा नेपालीहरु छन् । भारतको स्वतन्त्रताको आन्दोलनमा पनि हाम्रा नेताहरुको प्रत्यक्ष संलग्नता थियो ।’

भारतजस्तो देश नेपालको छिमेकी हुन नेपालको सौभाग्य भएको पनि उनले चर्चा गरे । ‘नेपालको लागि सुखद कुरा हो, दक्षिणतर्फ ठूलो जनसंख्या भएको देश भारत छ । उत्तरतर्फ चीन छ । आर्थिक प्रगति हाँसिल गरेका भारत र चीन छन् । यसलाई नेपालले सही सदुपयोग गर्नुपर्छ’ उनले भने ।

नेपाल र भारतबीच सिमा विवाद छ । पानीको बहुउपयोगको बारेमा पनि समस्या छ । पानीको सही उपयोग भयो भने वरदान सावित हुन्छ उनले थपे, ‘हामीबीच धेरै समस्या छन् । यस्ता समस्या भारत र बंगलादेशको बीचमा पनि छन् । नेपालको बारेमा सीमा समस्या समाधानको लागि बैठक नै बस्न नसक्नु दुःखद् हो ।’

उनले नेपाल र भारतबीच रहेको व्यापार घाटा कम गर्नेगरी काम गर्नुपर्ने बताए । त्यसका लागि भारतले नेपालको विजुलीको लागि बजारको सहजीकरण गरिदिनुपर्ने उनको सुझाव छ । उनले भने, ‘भाषणा गरेरभन्दा पनि वार्तामा बसेर समाधान गर्नुपर्छ । हाम्रो सम्बन्ध नयाँ आयामसहित अघि बढाओस । भारतबाट सकारात्मक पहल होस ।’

प्रकाशित मिति : १२ माघ २०७९ बिहिबार ००:००  ७ : २२ बजे