७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

गर्भवती खोज्दै शीतगंगाका जनप्रतिनिधि गाउँमा



अर्घाखाँची ।
गर्भवतीको अवस्था तथा स्वास्थ्य परीक्षणका लागि शीतगङ्गा नगरपालिकाको चिकित्सकसहितको टोली गाउँगाउँमा पुगेको छ । स्वास्थ्य परीक्षण गर्न भिडियो एक्स–रे बोकेर घरमै चिकित्सकसहितको स्वास्थ्यकर्मी र जनप्रतिनिधि घरआँगनमा पुग्दा स्थानीय खुसी भएका छन् ।

विभिन्न समयमा जिल्ला बाहिर गएर भिडियो एक्स–रे गुर्नभएकी शीतगङ्गा नगरपालिका–१, सुवर्णखालकी सरस्वती पौडेल छैटौँ पटक घरमै स्वास्थ्यकर्मीसँग स्वास्थ्य जाँच गर्न पाएको मक्ख देखिनुभएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने सुनेको अहिले भने आफूले घरआँगनमा निःशुल्क परीक्षण गरेर आवश्यक सरसल्लाह, खाने तरिका सिकाउँदा साँच्चै सिंहदरबार गाउँमा नाराको अनुभूति गर्न पाएको उहाँले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डा. शुभेच्छा शर्मा, स्टाफ नर्स सिर्जना घिमिरे र स्वास्थ्यकर्मी दामोदर ढकाल, लक्ष्मण पाण्डेसहितको टोलीमा नगरप्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललगायतको टोली गाउँटोलमा पुगेको छ ।

वडा नम्बर १ देखि ८ सम्ममा ११० जना गर्भवतीको स्वास्थ्य जाँच गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिनुभयो । गर्भवतीको स्वास्थ्य अवस्था, भिडियो एक्स–रे, फलोअप, पोषणतत्व पाइने खानाबारे सल्लाह दिने गरेको नर्स घिमिरेको भनाइ रहेको छ । नगरका १४ वडाकै गाउँमा पुगेर सबै गर्भवतीको परीक्षण गर्ने गरी बजेट विनियोजन गरिएको नगर उपप्रमुख भाटले बताउनुभयो ।

यहाँका गर्भवती महिलालाई स्वास्थ्य जाँचका लागि सन्धिखर्क, ठाडा, बुटवल र कपिलवस्तुसम्म पुग्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : १८ माघ २०७९ बुधबार ००:००  ६ : २१ बजे