६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा



पोखरा ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ ।

पोखरामा मंगलबार भएको केन्द्रीय कार्यसमिति बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको क्यानका बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

सन्दीपविरुद्ध बलात्कारको आरोपमा जाहेरी परेपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो । तर, उच्च अदालतको आदेशले धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

यता, मंगलबार नै उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गरेर थुनामै मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उनी ०७८ मंसिर २९ गते बसे राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : १८ माघ २०७९ बुधबार ००:००  ६ : ३० बजे