११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तुमा १५ औं चरणको हात्तीपाइले रोग बिरुद्धको अभियान सफल होला ?



भुपाल थापा, तौलिहवा ।
कपिलवस्तुमा फागुन ११ गतेबाट हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । सबैले औषधि सेवन नगर्दा कपिलवस्तुमा हात्तीपाइले रोग बिरुद्धको औषधि खाने अभियान १५ औं पटक संचालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुसहित नेपालमा गत बर्षबाट हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रममा तीन थरीका औषधि खुवाईदै आएकोमा सोही अभियानलाई निरन्तरता दिइएको छ । आर्थिक बर्ष ०६३÷०६४ देखि सुरु भएको अभियानको पाँच बर्षमा अभियान सफलतोन्मूख रहेता पनि त्यसपछिका अभियानहरु लक्ष्य भेटाउन असफल भएको तथ्यांक रहेको छ ।
२०६९ को पाँचौ चरणमा ०.८३ प्रतिशत, २०७० को छैठौं चरणमा ४.७५ प्रतिशत, २०७२ को आठौंं चरणमा १३ प्रतिशत र २०७४ को दशौं चरणमा १२.५ प्रतिशत आम औषधी सेवनबाट छुटेको तथ्यांकमा देखिन्छ ।

हात्तीपाइलेका कारण कपिलवस्तुमा हाइड्रोसिल भएका १ सय ८५, खुट्टा सुन्निएका १ सय ३२ र हाइड्रोसिलसँगै खुट्टा सुन्निएका १४ गरि ३ सय ३१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका भेक्टर कन्ट्रोल निरीक्षक उदयचन्द्र चौरसियाले बताए ।

उनका अनुसार २ बर्ष मुनिका बालबालिका, गर्भवती, औषधि खान नहुने समूहबाहेक सबैलाई औषधि खुवाइँदै छ । कार्यक्रम अन्तर्गत ६ सय भन्दा बढि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवक ११ सय ७ जना खटिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

औषधि सेवनवाट हुने सामान्य (अवान्छित) केही असरहरु देखिए पनि डराउनु नपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. शशी कंडेलले बताए । ज्वरो आउने, टाउको दुख्ने, रिङ्गाटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, जस्ता सामान्य असरहरु देखिन सक्दछन् । यस्तो अवस्था भएमा औषधि खाने व्यक्तिहरुले आफूमा हात्तिपाइले रोगको परजिवी भएको भन्ने बुझ्नुपर्छ तर यस्तो भएमा बिना उपचार यस्ता असरहरु १–२ दिनमा आफै ठीक भएर जानेछ, उनले भने ।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएका कपिलवस्तुसहित सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

जिल्लामा यो अभियानमा सार्थक रुपमा सहभागी नहुने र औषधि खान नमान्ने कर्मचारीहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउनु् पर्ने जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताए । यो बर्ष अनिवार्य रुपमा औषधि सेवन अभियानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

गएको बर्ष कपिलवस्तुमा ९० प्रतिशत जनताले मात्रै औषधि खाएपछि अभियानलाई लम्ब्याउनु परेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए । शिक्षित भनिएका व्यक्तिहरुले नै औषधि नखाइदिदा समस्या आएको कार्यालयको भनाई छ । औषधिको समान्य असरको ठूलो हल्ला चल्दा पनि औषधि खानेहरु कम भएको देखिएको छ । कुनै व्यक्तिलाई सामान्य समस्या देखिए पछि अन्य कसैले पनि औषधि खान नमानेको स्वाथ्यकर्मी बताउँछन् ।

आम औषधि अभियान २०७९ अन्र्तगत यसबर्षदेखि तीन प्रकारका औषधिको सेवन गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनक अधिकारीले बताए । नयाँ औषधिको रुपमा आइभरमेक्टाइन्लाई सेवन गर्न स्वास्थ्यकर्मीहरुले आम जनतामा आग्रह गरेका छन् ।

६ बर्षसम्म खानुपर्ने औषधिलाई २ बर्षमै झार्न, औषधिको प्रभावकारिता बढाउन, परजिवीको वयस्क र बच्चा दुबैलाई मार्न, औषधिको साइड इफेक्ट कम गर्न यस वर्षदेखि सेवन गर्ने नयाँ औषधिको प्रभावकारिता रहेको स्वास्थ्यकर्मी बताउँछन् । आइभरमेक्टाइन औषधिको सेवनले हात्तीपाइले बाहेकका अन्य रोगहरु जस्तै लुतो, जुम्रा, मलेरिया जस्ता रोगहरु बिरुद्ध पनि राम्रो काम गर्ने चिकित्सकको भनाइ छ ।

स्वास्थ्य कार्यालय कपिलबस्तुले तौलिहवामा आयोजना गरेको हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने अभियान सम्बन्धि जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठीमा दिइएको जानकारी अनुसार, तीन थरीका औषधि खुवाउने भएकाले यसपालि व्यक्तिको उचाईको आधारमा औषधिको मात्रा निर्धारण गरिनेछ । यसअघिका अभियानमा दुई थरीका औषधि थिए र उमेरका आधारमा औषधिको मात्रा छुट्याइन्थ्यो ।

महिला स्वास्थ्य स्वयंसेविका या स्वास्थ्यकर्मीले औषधिको तथ्यांकलाई आधार बनाउँदा कभरेज देखिने तर वास्तविक खाने मान्छे कम हुने गरेको सम्बद्धहरुको भनाई छ । खानेले खाइरहने र नखानेले खादै नखाइ दिंदा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुँदै आएको छ ।

गोष्ठीमा इपिडिमियोलोजी तथा रोग निवारण महाशाखाका डा. शशी कंडेल, जनक अधिकारी, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डे, कपिलवस्तुका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखको सहभागिता रहेको थियो । गोष्ठीमा विभिन्न व्यक्तित्वहरुले प्रस्तुती गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  ६ : ४६ बजे