६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने



काठमाडौं ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् ।

सिहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए । उनले भने, ‘उम्मेवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण आज भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छौं ।’ उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको बताए । उनले भने, ‘सबैपक्षको कुरा बुझेर एउटा टुङ्गोमा पुग्ने भन्ने भएको छ । कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन् । व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन् । विकसित परिस्थितिका आधारमा बसेर टुङगोमा पुग्छौँ ।’

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  १ : ४९ बजे