१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ओलीका सबै भनाइ सुन्दा उहाँ नै प्रधानमन्त्रीजस्तो लाग्योः चित्रबहादुर केसी



काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्। ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा उनले ओलीका सबै भनाइ सुन्दा आफूले उहाँ नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताए।

उनले प्रधानमन्त्री दाहाललाई कांग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए। उनले अध्यक्ष ओलीका कुराहरू गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक रहेको बताए। उनले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखहरूलाई पनि बोल्ने समय तोक्नुपर्ने बताए।

उनले भने, ‘२०६४ तिर की कता हो, पूर्वप्रधानमन्त्री र सभामुखले जति बोले पनि हुने, पूर्वप्रधानमन्त्री एक जना नाम अहिले नलिऔँ, उहाँले ३९ मिनेट बोल्नुभयो, त्यतिबेला र आफ्नो भाषण छोड्ने बेलामा मेरा दुई शब्द यही टुंग्याउँछु भनेर छोड्नुभयो, बोल्ने बेलामा ३९ मिनेट बोल्ने, त्यसैले सभामुखज्यु, पूर्वप्रधानमन्त्रीहरु र सभामुखहरुले जति बोल्नुहुन्छ, त्यत्ति समय दिनु हुँदैन, उहाँहरूलाई पनि समय निश्चित गर्नुपर्छ ।’

केसीले भने, ‘आजको बोलीबाट मैले त्यही पहिलेको ०६४ कै पूर्वप्रधानमन्त्रीले ३९ मिनेट फटफटाएर मेरो दुई शब्द यहीँ टुंग्याउँछु भन्ने । अर्को अघि पूर्वप्रधानमन्त्रीले जे कुरा गर्नुभयो, नयाँ आएका साथीहरूलाई आश्चर्य लाग्न सक्छ । उहाँले रनभुल पार्न सक्नुहुन्छ । हामी त संसदमा पहिल्यैदेखि छौँ नि । उहाँलाई देखेका छौँ, सरकारमा, संसदमा बसेका छौँ । उहाँले जे जति आकाश पाताल जोडेर कुरा गर्नुभयो, त्यसको मुख्य कारण नेपाली कांग्रेसले राष्ट्रपतिमा जुल्कीहुल्की गरेको हुनाले सातोपुत्लो गएको छ, मुख्यकुरा त्यही हो ।’

केसीले थपे, ‘प्रवासीहरूबारे गोहीको आँशु बगाउनुभयो, हामीले शुरुदेखि नै प्रवासीले नोट काम लाग्ने मताधिकार दिनुपर्छ भनेका थियौँ, उहाँले गोहीका आँशु निकाल्नुभयो । मैले के निस्कर्ष निकालेको छु भने अहिलेका प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल होइन, उहाँ नै हो । उहाँलाई चिन्ता पुष्पकमलले सहमतिमा जानुपर्छ भन्दा २६ गते नै आतंकित हुनभएको छ । अहिले उहाँले गरेका कुरा गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक छ ।’

सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याबारे आज आएर गोहीको आँशु बगाएको भन्दै व्यंग्य गरे।

प्रकाशित मिति : २२ माघ २०७९ आइतबार ००:००  ६ : २८ बजे