११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

स्काइलार्क बोर्डिङ स्कूलले बार्षिक उत्सव तथा अभिभावक दिवस मनायो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा ११ ओदारीमा अवस्थित स्काइलार्क इंग्लिस बोर्डिङ स्कूलले आफ्नो बार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बीच मनाएको छ ।

कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए । स्काइलार्कले हरेक बर्ष विद्यालयमा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यस बर्ष पनि निरन्तरता दिएको हो । विद्यार्थीहरुले विभिन्न पोशाकमा सजिएर नृत्य, गीत, सन्देशमुलक नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष पूर्ण चन्द्र परियारले सांगेतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो भने अन्य विधाका विभिन्न पुरस्कार समेत प्रदान गरिएको छ ।

पढाइ संगसंगै विद्यार्थीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक पक्षको विकास गरी उनीहरुको हौसला वृद्धिका लागि पुरस्कार वितरण गरिएको स्कूलका प्रिन्सिपल तोलाकान्त डुम्रेले बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसीले स्काइलार्क स्कूल जिल्ला, प्रदेशमा मात्र नभई राष्ट्रमै छुट्टै छवि बनाउन सफल रहेको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९ सोमबार ००:००  २ : १२ बजे