११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

उपेन्द्र यादवले भनेः ‘लुम्बिनी प्रदेश सरकार केही दिनको मात्र हो’



मायादेवी अनलाइन, तौलिहवा ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोर रहेको बताएका छन् । उनले सरकार धेरै दिन नटिक्ने समेत दाबी गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समितिले सोमवार तौलिहवामा राखेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सो कुरा भन्दै उनले अहिलेको सरकार गठनलाई राहु केतुको अनमेल मिलनको संज्ञा दिए ।

‘अहिलेको प्रचण्ड नेतृत्वको सरकार इतिहास मै सबै भन्दा कमजोर सरकार हो’ उनले भने ‘यो सरकार धेरै दिन टिक्ने सम्भावना छैन र भविष्य पनि छैन ।’

उनले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि नै सरकारको स्वरुप परिवर्तन हुने दावी गरे । अहिले सरकारमा राजावादी, लोकतन्त्रवादी, गणतन्त्रवादी रहेकाले राहु र केतु मिलेको जस्तै देखिएकाले पनि सरकारको आयु धेरै दिन नहुने उनले ठोकुवा गरे । अहिले प्रधानमन्त्री प्रचण्ड निकै कमजोर र लाचार देखिएको उनले बताए ।

गुह, अर्थ, परराष्ट्रमन्त्री समेत अरु पार्टीको रहेकाले प्रचण्डले आफूले चाहेको नीति कार्यक्रम समेत लागु गराउन नसक्ने उनले बताए । यही सरकारमा रहेका मन्त्रीहरुले खुलेआम गणतन्त्र र संघीयता विरोधि भाषण गरे पनि प्रचण्ड मौन बस्न बाध्य रहेको उनले बताए ।

यो सरकारले एक पछि अर्को गल्ती गर्दै गएकाले मुलुकको अर्थतन्त्र निकै खतरनाक मोडमा पुगेको उनको भनाई छ । यस अघि र अहिलेको सरकारको गलत नीतिका कारण मुलुक आर्थिक संकटमा फस्ने सम्भावना बढेको उनले बताए । ‘आउने बैशाख पछि मुलुकमा आर्थिक संकटको बढी सम्भावना छ, आम जनजीवन नकारात्मक तर्फ जाने देखिएको छ’ उनले भने ।

अहिले सरकारको गलत नीतिका कारण मुलुक विदेशीको खेल मैदान बनेको उनले आरोप लगाए । उनले देशमा चार विदेशी शक्तिले खेलिरहेको भन्दै उनले यो मुलुकलाई आफूले खेल मैदान बन्न नदिने दावी गरे । उनले सरकारको गलत रैवायाका कारण छिमेकी र मित्रराष्ट्रहरुको समेत विश्वास गुमाउँदै गएको बताए।

उनले गत मंसिरमा भएको निर्वाचनको मुख्य मुद्दा पैसा र जातिवाद भएको बताए । यो सरकारलाई आन्दोलनको उपलब्धिको रक्षा संस्थागत र अर्थतन्त्र मजवुद बनाउन आफ्नो पार्टीले समर्थन दिएको भन्दै बाटो बिराउँदै गएकाले अब दिएको समर्थन समेत फिर्ता लिने स्थितिमा पुगेको बताए । यो सरकारले बाटो बिराउदै गएकाले केही दिनको सरकार भएको उनले बताए ।

उनले लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा बनेको सरकारले आफ्नो पार्टीलाई धोका दिएको भन्दै यो धोका महँगो पर्ने चेतावनी दिए । ‘लुम्बिनी प्रदेशको सरकार पनि केही दिनको मात्र हो’ उनले भने । उनले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घात गर्ने नेता र कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने बताए । उनले आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगरेको तर एमालेसँग केही सिटमा भने तालमेल गरेको बताए । प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो पार्टीको धेरै ठाउँमा उम्मेदवार बनेकाले यस्तो प्रतिकुल समयमा समेत जसपा राष्ट्रिय पार्टी बन्न सफल भएको उनले बताए ।

पार्टीका जिल्ला समन्वय समितिको संयोजक शैलेन्द्र कुमार यादवको अध्यक्षता, संदीप पाण्डेयको संचालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामवरण यादव, ओम प्रकाश यादव, संघीय परिषद् सदस्य राम निवास यादव, पार्टीका प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, प्रदेश सदस्य सन्तोष पाण्डेय, प्रदेश सदस्य अकरम पठान, प्रदेश सदस्य शिवपुवन यादव कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल लगायतले मन्तव्य दिएका दिएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९ मंगलबार ००:००  ६ : ०९ बजे