१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ऐतिहासिक हथौसा मेला सुरु



मायादेवी अनलाइन, बाणगंगा ।
प्रत्येक बर्षको महाशिवरात्रिको अवसर पारेर लाग्दै आएको हथौसा मेला शनिबारदेखि शुरु भएको छ ।

मेलाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पन्थीले हथौसा मेला पौराणिक दृष्टिले महत्वपूर्ण रहेको भन्दै यसको प्रचार प्रसारमा जोड दिए ।

उक्त अवसरमा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बोल्दै हथौसा मेला नगरकै महत्वपूर्ण मेला भएको बताए । परापूर्वकाल देखि चल्दै आएको यो मेलामा कृषिजन्य सामग्रीको बेचबिखन देखि विभिन्न व्यापारीले स्थान पाउने हुँदा यसले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने बताए ।

जिल्लाको हथौसा, महाशिवरात्रि मेलाका हिसावले नेपालकै महत्वपूर्ण क्षेत्र हो । महाशिवरात्रि मेला र थारु समुदायको परम्परागत संस्कृतिको आफ्नै गहिरो नाता रहेको थारु अगुवा भग्गु थारुले जनाए ।

ऐतिहासिक हथौसा मेला ।

आदीवासी जनजाती थारु समुदायको परम्परागत उत्पादन पद्धतिको प्रदर्शन र कृषि उपजको खरिद विक्रीका लागि संचालन हुने हथौसा मेला समय परिवर्तनसंगै आधुनिक शैलीमा रुपान्तरण हुन पुगेको छ । फलस्वरुप महाशिवरात्रि हथौसा मेला यतिबेला कृषि पर्यटन उद्योग र संस्कृति आदानप्रदान गर्ने आधुनिक मेलाका रुपमा संचालन हुन थालेको छ ।

यो मेला नेपाल र भारतका किसानहरुका लागि विशेष महत्वको मेला हो । यहाँ परम्परागत कृषि उपकरण देखि आधुनिक पद्धतीका कृषि उपजसम्मको खरिद विक्री हुन्छ । नेपालका धेरै जिल्लाका नागरिक र भारतका हजारौ दर्शनार्थी यो मेला भर्न आउँछन् ।

यो मेलामा पछिल्लो पटक आधुनिक पिङ्ग, मौतका कुवा, जादु र विभिन्न प्रदर्शन योग्य स्टलहरु राखिने गर्छन । तसर्थ यो मेला एक आधुनिक मेलाका रुपमा विकसित हुन पुगेको छ । शनिबारदेखि सन्चालन हुने मेला यही १२ गतेसम्म चल्ने वडा नं. ११ का वडाध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ५ : २० बजे