२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

ओलीले भनेः प्रसाईंको कारबाहीबारे तपाईंहरुलाई चिन्ता किन ?



विराटनगर ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनको जन्मकुण्डलीमै राष्ट्रपतिमा एमालेलाई सघाउने सहमति भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ नदिने कुरा कल्पनाभन्दा बाहिरको भएको बताए।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमालेलाई राष्ट्रपति दिने सहमति भएको छैन भन्नुभएको छ नि भन्ने प्रश्नमा अध्यक्ष ओलीले माओवादीका नेतासँग सहमति भएको र कार्यकर्तासँग सहमति गरिनराख्नु पर्ने प्रतिक्रिया दिए।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा दिँदै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको प्रसंगमा ओलीले पूर्वराजा आफै अलमलमा भएको समेत उनले बताए।

‘अहिले भन्दा १५ वर्ष अगाडिसम्म २ सय ४० वर्ष सम्म उहाँहरूले देश कहाँ पुर्‍याउनुभयो,’ उनले भने।

ओलीले ज्ञानेन्द्रले राजनीति गरिरहेको समेत बताए ।

‘ज्ञानेन्द्रजीले केही दिनअघि झापाको मेचीपुलमा दियो बाल्नुभएको थियो, उहाँलाई अझै पनि पुरानो झल्को आइरहेको हुन सक्छ,’ ओलीले भने।

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पूर्वराजालाई ल्याएर झापामा केही दिनअघि कार्यक्रम गरेका थिए ।

प्रसाईंलाई कारबाही किन नगर्नुभएको भन्ने प्रश्नमा ओलीले कारबाहीको चिन्ता तपाईंहरुलाई किन ? भन्दै प्रतिप्रश्न गरे। ‘चौतर्फी विरोध आइरहेको छ आउँछ, एकातिर भीम रावलजी उफ्रिरहनु भएको छ । पानीले आफ्नो लेबल आफैँ मिलाउँछ मिलाउँदै जान्छ, हतार गर्नु पर्दैन’, उनले भने ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९ आइतबार ००:००  ६ : ३१ बजे