७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मानवअधिकार उल्लंघनका घटना लुम्बिनीमा बढे



नेपालगन्ज ।
लुम्बिनी प्रदेशमा मानवअधिकार र ज्यादतीका घटनामा सुधार नआएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल मानवअधिकार वर्ष पुुस्तक प्रकाशन र लुम्बिनी प्रदेशको मानवअधिकारको अवस्थाबारे पुस्तक सार्वनिक गर्दै लुम्बिनी प्रदेश संयोजक भोला महतले मानवअधिकारको अवस्था सन्तोषजनक नभएको बताए । लुम्बिनी प्रदेशमा मानवअधिकार र ज्यादतीका घटनामा सुधार नआएको तथ्यांकले देखाएको छ ।

इन्सेक लुम्बिनी प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ भन्दा २०२२ मा घटना बढेको छ ।

प्रदेशमा सन् २०२१ मा एक हजार ७ सय ८६ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना भएका थिए । सन् २०२२ मा दुई हजार ८४ वटा घटना भएका छन् ।

इन्सेक लुम्बिनी प्रदेशका संयोजक महतले सन् २०२१ मा भन्दा सन् २०२२ मा मानवअधिकार उल्लंघनका घटना बढ्नु मानवअधिकारको प्रत्याभुति नागरिकहरुले पाउन नसकेको बताए ।

यो वर्ष निर्वाचनको वर्ष भएको र निर्वाचनका क्रममा १२ वटा घटनामा ३६ जना पीडित भएको इन्सेकले जनाएको छ । प्रदेशमा विभिन्न घटनामा २ सय ४२ बालबालिका पीडित भएका छन् । एक हजार ६ सय २३ महिला हिंसामा परेका छन् ।

लुम्बिनीमा कैदी बन्दीको जीवनमाथिको असुरक्षा बढ्दो देखिन्छ । समयमा न्याय नपाउने र न्यायालयले रुचीअनुसार मुद्दालाई अघि बढाउदा कारागारमा बन्दीको संख्या बढिरहेको इन्सेक संयोजक महतको भनाइ छ ।

सन् २०२२को सत्य, तथ्य तथ्याङ्क सङ्कलन अनुसार लुम्बिनी प्रदेशमा अपहरण १५ जना, गिरफ्तार ६ जना, कुटपिट ३२ जना, बाल अधिकार दुई सय ४२ जना, हिरासतमा मृत्यु दुई जना, अमानवीय व्यवहार पाँच जना, घाइते ५९ जना, हत्या ४०जना, जातीय विभेद सात जना, अभिव्यक्ति भेला तथा संगठित हुन पाउने अधिकार ४८ जना, धम्की तीन जना, महिला अधिकार एक हजार ६सय २३ जना, कारागारमा मृत्यु एक जना, बेपत्ता एक जना गरी जम्मा दुई हजार ८४ जना पीडित रहेको तथ्याङ्क महतले सार्वजनिक गरे ।

सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा यस्ता घटनाका संख्या बढी भएको र महिला तथा बालबालिका प्रभावित रहेको तथ्याङ्कले देखाउँछ भने जातीयताको हिसाबमा दलित, जनजाति प्रभावित रहेको र पेशागत हिसाबमा विद्यार्थी, गृहणी महिला र पत्रकार बढी जोखिममा रहेको तथ्यले देखाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९ सोमबार ००:००  ६ : ४१ बजे