२२ जेष्ठ २०८०, सोमबार | Mon Jun 5 2023

केपी ओलीले गरे माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह



काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच आइतबार भेट भएको हो ।

आइतबार दिउँसो महाराजगन्जमा दुई दलका अध्यक्षबीच भेट भएको स्रोतले बताएको छ । एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

पार्टी विभाजनपछि विवाद व्यक्तिगत तवरमै चुलिरहेका बेला ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले गत २०७८ को भदौमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।

एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई समेत राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई समेत ओलीको सोही प्रस्ताव रहेको छ ।

प्रधानमन्त्री तथा नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको पदाधिकारी बैठकमा ओलीले राष्ट्रिय सहमति हुनेगरी उम्मेदवारको नाम अघि नसारेको ब्रिफिङ गरेका थिए । ओलीले वाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्थायी कमिटी सदस्य गुरु बराललगायतको नाम अघि सारेको दाहालले बैठकमा बताएका थिए ।

गठबन्धन जोगाउन ओली आफैंले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अघि सार्न सक्ने संकेत आफूले पाएको दाहालले कांग्रेस नेताहरूलाई बताएका थिए । आइतबार राति दाहाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  ६ : १७ बजे