१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चारनम्बर–बुटवल चल्ने विङ्गरले क्षमता भन्दा बढी यात्रु बोक्दै, ट्राफिक मौन !



मायादेवी अनलाइन, बाणगंगा ।
आइतबार बाणगंगाको बैरिया चोकमा विङ्गर र बसका सहचालक बीच कुटाकुट नै भयो । चारनम्बरबाट बुटवलका लागि छुटेको विङ्गरले क्षमताभन्दा बढी यात्रु बोकेको थियो । पश्चिमको चन्द्रौटाबाट आउँदै गरेको बस खाली थियो । बैरियामा विङ्गरले अटिनअटी यात्रु चढाउँदै थियो ।

बसका सहचालकले यात्रुलाई आफ्नो बसका सिट खाली भएको र त्यहाँ चढ्न आग्रह गरे । यो प्रस्ताव सुनेर ‘क्रूध’ भएका विङ्गरका सहचालक एक्कासी बसका सहचालक माथि झम्टिए । यही विषयलाई इगोको रुपमा लिएर बैरिया चोकमा दुवै पक्ष बीच कुटाकुट नै भयो । यात्रुहरुले उनीहरुको कुटाकुट हेरेर बस्न बाध्य भए ।

यो त उदाहरण मात्र हो । यस्ता घटना राजमार्गमा घटिरहेका छन् । कपिलवस्तुको चारनम्बर-बुटवल चल्ने अधिकांश विङ्गरको दादागिरी बढ्दो छ । पाँच-पाँच मिनेटको दुरीमा बुटवलका लागि छुट्ने विङ्गरको संख्या यहाँ अस्वभाविक छ । चौध जनाको मात्र सिट संख्या रहेपनि यस्ता विङ्गरले २५ जनासम्म यात्रु राख्ने गरेका छन् ।

उभिन सक्ने ठाउँ नहुँदा पनि विङ्गरले यात्रुलाई जबरजस्ती यात्रु चढाउने गरेका छन् । आइतबार नै एक विङ्गरले सालझण्डीबाट दुई जना यात्रुलाई बुटवलका लागि चढायो । सिट खाली थिएन् । सानो सवारी भएको कारण उभिन सक्ने स्थिति पनि हुँदैन् । तरपनि विङ्गरमा भीड थियो । यात्रुलाई बुटवलसम्म पुग्दा सिट दिने दाबीसहित चढायो । बाँसगढी पुग्दासम्म सिट नपाएपछि दुबै यात्रुले सहचालकसंग झगडा गरे । आफूहरुलाई जबरजस्ती चढाएर सिट नदिएको भन्दै ती यात्रु त्यहीँ झरे ।

कतिपय यात्रुले प्रतिबाद गरेपनि अधिकांश यात्रु ‘चू’ बोल्दैनन् । भाडा तिरेर हिड्ने यात्रुलाई सहचालकले गर्ने व्यवहार रुखो हुन्छ । क्षमताभन्दा बढी यात्रु नबोक्न आग्रह गरेपनि बढी नबोल्न उनीहरु चेतावनी दिन्छन् ।

चारनम्बर देखि बुटवलसम्म नै ठाउँ ठाउँमा प्रहरीको चेकपोस्ट छ । जहाँ सिभिलसंगै ट्राफिक प्रहरी पनि बसेका हुन्छन् । विङ्गरले अस्वभाविक यात्रु बोक्दा कुनै ट्राफिकले रोक्ने आट गर्न सक्दैनन् ।

स्रोतका अनुसार केही समय ट्राफिकले क्षमताभन्दा बढी यात्रु बोक्ने माथि एक्सन चालेपनि पछिल्लो समय माथिको आदेश भन्दै अहिले मौन बस्ने गरेको छ ।

बुटवल यातायात प्रालि र पश्चिम नेपाल यातायात प्रालिले विङ्गर चलाउने गरेको छ । यी प्रालिले ट्राफिक प्रहरीलाई खुसी पारेका कारण विङ्गरलाई चेकजाँच गर्न आनाकानी गर्ने गरेको एक जना यातायात व्यवसायीले दाबी गरे ।

महेन्द्र राजमार्गका ठाउँ ठाउँमा सवारी चेकजाँचका लागि ट्राफिक हुन्छ । मोटरसाइकललाई तुरुन्तै चेकजाँच गर्ने ट्राफिकले विङ्गरलाई चेक नै गर्दैन् ।

सानो सवारी साधन त्यसैमा पनि क्षमताभन्दा बढी यात्रु बोक्दा सडक यातायात असुरक्षित बन्दै गएको छ । समयमा ध्यान दिन नसके ठूलै मानविय क्षतिको जोखिम बढ्दो छ । सम्बन्धित निकायले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन पहल गर्नुपर्नेमा कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई बताउँछन् । आम सर्वसाधारण हिड्ने सार्वजनिक यातायात व्यवस्थित पार्नुपर्नेमा उनको जोड छ ।

पछिल्लो समय पूर्व-पश्चिम महेन्द्र राजमार्ग साँघुरो हुँदै गएको छ । राजमार्ग क्षेत्रमा फैलिदो सहरीकरणले सडक व्यस्त छ । पूर्व-पश्चिम हिड्ने सवारी आफ्नै गतिमा हिडेका हुन्छन् । यस्तो सडकमा क्षमता भन्दा बढी सार्वजनिक यातायात चल्ने अनूमति सरकारले दिएको छ । भित्री तथा सहायक सडकमा चल्नुपर्ने यातायात महेन्द्र राजमार्गमा नै अस्वभाविक रुपमा चल्ने अनूमति दिदाँ दुर्घटनाको जोखिम बढेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  ७ : २२ बजे