१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्वास्थ्यको क्षेत्रमा नीतिगत सुधार आवश्यक : मन्त्री पन्थी



मायादेवी अनलाइन, बाणगंगा ।
नवनियुक्त स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्यको क्षेत्रमा नीतिगत सुधार गरेर आमजनतालाई सहज बनाउने बताउनुभएको छ । उहाँले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएपछि नीतिगत सुधार गरेर जनतालाई आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन आफु प्रतिवद्ध रहेको बताउनुभयो । उद्योग व्यापार संघ कपिलवस्तुले वाणगंगामा आयोजना गरेको कार्यक्रममा पन्थीले यस्तो बताउनुभएको हो ।

स्वास्थ्य मन्त्री पन्थीले कपिलवस्तुमा स्वास्थ्य सेवाको अवस्थामा सुधार गर्दै पुराना अस्पतालहरुको स्तरबृद्धि, जनशक्ति र व्यवस्थापनमा काम गर्ने समेत बताउनुभयो । सोही अवसरमा मन्त्री पन्थीले उद्योगी व्यवसायीसंग स्वास्थ्य क्षेत्र सुधारको लागि एक दिन समय दिन आग्रह गर्नुभएको छ ।

उहाँले हरेक संघसंस्थाले अस्पतालको सफा सुग्घरमा एकदिन समय दिएर रचनात्मक सहयोग गर्न आग्रह गर्नुभएको हो । अस्पतालमा ससाना काम गरेर पनि धेरै परिवर्तन ल्याउन सकिन्छ मन्त्री पन्थीले भन्नुभयो । अस्पतालहरुमा सामाजिक सेवाको भावले एकदिन समय दिएर सरसफाई जस्ता काममा सहयोग गर्न अनुरोध गर्नुभएको हो ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य टोप नारायण बेल्वासेले वामपन्थी आन्दोलन र पार्टीमा महत्वपूर्ण योगदान गरी यस क्षेत्रबाट सांसद पन्थी मन्त्री बन्नुभएकोमा खुशी व्यक्त गर्नुभयो । जनताको सेवामा निरन्तर प्रतिवद्ध पन्थीलाई आम जनताको हितमा जनमुखी काम गरेर सफल कार्यकाल बनाउन शुभकामना दिनुभएको छ । केन्द्रीय सदस्य वेल्वासेले मन्त्री पन्थीको कार्यक्षमता र कार्यशैलीले सवैको साझा भएर मन जितेको बताउनुभयो ।

त्यस्तै निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले स्वास्थ्यका समस्या, विमा सुविधा र उपचारमा विरामीलाई सहज बनाउनुपर्ने बताउनुभयो । बीमाका समस्या समाधान गरेर बिरामीलाई सहज बनाएर लोकप्रिय बन्न आग्रह गर्नुभयो ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलले कपिलवस्तुले विष्णु पन्थी मन्त्री पाउँदा आगामी दिनमा विकास निर्माणका कामले अझ गति लिने अपेक्षा गर्नुभयो । संघले सवै निकायसंग सहकार्य र समन्वय गरेर सामाजिक रुपान्तरणमा हातेमाले गर्ने बताउनुभयो । स्वागत सम्मान कार्यक्रम महासचिव बासुदेव खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  १० : ३९ बजे