१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव



काठमाडौं ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको भन्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

अध्ययन समितिले किसान, उद्योगी, बजारसहित अध्ययन गरेर तयार पारेको प्रतिवेदनअनुसार दूध प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको उहाँले बताउनुभयो । बढेको मूल्यको ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगीले पाउने उहाँले दाबी गर्नुभयो । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि कार्यान्वयनमा जानेछ ।

यसअघि २०७८ माघ मा दूधको फ्याटका आधारमा प्रतिलिटर नौदेखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । राष्ट्रिय दुग्ध विकास नीतिअनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था गरेको छ । तर यसपालि मूल्यवृद्धि भएको एक वर्षमै बोर्डले भाउ बढाउन सिफारिस गरेको हो ।

अहिले दूधको उपभोक्ता मूल्य ८६ रुपैयाँ रहेको छ । तर खुलारूपमा बिक्री हुने दूध अहिले पनि प्रतिलिटर एक सय रुपैयाँ वा त्योभन्दा माथि पनि बिक्री भइरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९ बुधबार ००:००  ५ : ५६ बजे