१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धरापमा सत्ता गठबन्धन, पाँच दलीय गठबन्धन ब्युँताउने तयारी



काठमाडौँ ।
राष्ट्रपति निर्वाचनमा विगतमा नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे सघनरूपमा छलफल भएको छ । कांग्रेस नेताहरुले राष्ट्रपति निर्वाचनका लागि पुरानै गठबन्धनलाई ब्युँताउनेबारे अन्तिम निष्कर्षका लागि तयारी थालेको बताएका छन् । यसबारेमा औपचारिक समझदारी भएमा पुरानै गठबन्धन ब्युँतने उनीहरूको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले तत्कालीन गठबन्धनका सबै दलका नेताहरूसँग बुधबार चरणबद्ध छलफलपछि विगतको पाँच दलीय गठबन्धन ब्युँताउने सहमति बनाउनुपर्ने बताएका हुन् ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि कांग्रेसका प्रभावशाली एक नेताले भने, ‘आज दिनभरको भेटघाट र छलफलपछि अब विगतको पाँच दलीय गठबन्धन ब्युँताउने निष्कर्षमा पुगेका छौं । राष्ट्रपतिको निर्वाचनमा त्यही गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवारी दिने समझदारी बनेको छ । विहीबार दिनभर छलफलपछि हामी बेलुकासम्म सबै विषयमा टुंगो लगाइसक्छौं ।’

कांग्रेस सभापति देउवाले बुधबार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग आफ्नै निवासमा चरणबद्ध छलफल गरेका थिए । त्यसपछि बेलुका कांग्रेस शीर्षहरूसहित बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग निर्णायक वार्ता भएको थियो । त्यसक्रममा राष्ट्रपति निर्वाचनमा विगतको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे सघनरूपमा छलफल भएको ती नेताले बताए ।

बुधबार साँझ प्रधानमन्त्रीको निवासमा भएको छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए । त्यसअघि देउवाले धुम्बाराहीस्थित निवासमा नेकपा एसका अध्यक्ष नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ५ : ४२ बजे