१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यो बर्षपनि सुरु भयो तिलौराकोटमा उत्खनन



तौलिहवा ।
गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत बर्षजस्तै यस बर्ष पनि उत्खनन कार्य सुरु गरिएको छ ।

उत्खननमा बेलायतका दुरह्याम विश्वविद्यालय, पुरातात्विक विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता छ ।

उत्खनन कार्य ४५ दिनसम्म चल्ने र यस चरणमा तिलौराकोट क्षेत्रका विभिन्न ठाउँमा हुने पुरातात्विक विभागका प्रमुख पुरातात्विक अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले बताए ।

तिलौराकोटको पूर्वीद्वार अगाडिको संरचना, कन्थक स्तूप नजिकै भेटिएका विहार र पोखरीको अनुसन्धान कार्य सुरु गरिएको उनले बताए ।

तिलौराकोटमा ‘भिजिटर सर्भे’ र अरू टोली आउने क्रम जारी रहेको अधिकृत कुँवरले जनाए ।

टोली आइसकेपछि कपिलवस्तु जिल्लामा रहेका विभिन्न पुरातात्विकस्थलमा ‘जियोफिजिक्स सर्भे’लगायतका कार्य गर्ने योजना रहेको उनको भनाइ छ ।

विगत वर्षहरूमा मुख्य दरबार क्षेत्र, उत्तरीद्वार, मौर्यकालिन पोखरी, समयमाई मन्दिर पछाडी, शिवगढ, कन्थक स्तूपलगायतको क्षेत्रमा उत्खनन भइसकेको लुम्बिनी विकास कोषका पुरातात्विक अधिकृत हिमाल उप्रेतीले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ७ : ०१ बजे