१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बाणगंगाका मेयर अर्यालले भनेः नगरको हालको उपलब्धिबाट सन्तुष्ट छैनौं



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरको हालको उपलब्धिबाट आफू स्वयम् सन्तुष्ट नरहेको बताएका छन् ।

आफूहरुले उपलब्धि देखिने गरी सक्रियता देखाए पनि विभिन्न कानुनी जटिलता, स्रोत साधनको अभाव लगायतका कारणले काम गर्न असहज भएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले बुधबार राखेको नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीबाट उठेका प्रश्नहरुको जवाफ गर्दै उनले भने, ‘हामी नै हाम्रा काम कारबाही तथा हालको उपलब्धिबाट सन्तुष्ट छैनौं । नगरबासी हुने त कुरै भएन ।’

फोहोरमैला व्यवस्थापन, छाडा पशुचौपायाको व्यवस्थापन जस्ता समस्याको समाधानका लागि आफू निरन्तर रुपमा गम्भीर भएर लागेको उनको दाबी छ ।

हालै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको प्रतिवेदनमा बाणगंगा नगरपालिकाको ५५.४७ प्रतिशत मात्र अंक देखिएकोमा उनले असन्तृष्टि जनाए ।

केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीसंगको भेटमा बाणगंगा नगरपालिकाकाले ८२.५ प्रतिशत अंक ल्याएको भन्दै उनीहरुले बधाई दिएको मेयर अर्यालले सुनाए । उनले यस सम्बन्धमा थप खोज गरी पुष्टि गरिने बताए ।

केही दिन अघि मात्र जिल्लाको महाराजगंजले ६८ दशमलव ६७ अंक प्राप्त गरी कपिलवस्तुका १० पालिकामध्ये उत्कृष्ट भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको थियो ।

अहिले युवाहरुको ठूलो पंक्ति लागू पदार्थ दुव्र्यशनीमा फसेकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘यसको नियन्त्रण गर्न नगरपालिकाले ठूलो बजेट विनियोजन गरी विभिन्न कार्यक्रम गरेको छ । यसप्रति नगरपालिका गम्भीर भएर लागेको छ ।’

उनले लागु पदार्थ बेचबिखनकर्ताको बिगबिगीलाई कम गरी स्थानीय सरकार र सरोकारवाला सबै निकाय एकतावद्ध भएर मात्र लागू पदार्थ दुव्र्यशनी नियन्त्रण गर्न सकिने बताए । कार्यक्रममा उपमेयर रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल लगायतले उठेका प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ७ : १४ बजे