१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तारा एअरको जहाज दुर्घटनाः आयोगको प्रतिवेदन सार्वजनिक, चालक दलको त्रुटि



काठमाडौं ।
मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एअरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएको छ ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती समक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो । २०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर (एन–एइटीरडीएचसी ६–३०) जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो । जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो ।

प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द गरिएको थियो । त्यहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन् । सरकारले गएको जेठ १६ गते जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगको सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनीयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य र सदस्य सचिव बुद्धिसागर लामिछाने रहनुभएको थियो ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार जहाज दुर्घटनामा चालक दलको त्रुटि पाइएको छ । जहाजमा जडित प्रणाली सही तरिकामा उपयोग गर्न नसक्दा जहाज पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ । टीएडब्लूएस प्रणाली बन्द नगरि जहाज उडाएको भए दुर्घटनामा पर्नुभन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो । जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो ।

मौसम खराबका कारण पाइलटले अगाडिको दृश्य राम्रोसँग देख्न पाएनन् । चालक दलले कम्पनीले तोकेको उडान मापदण्ड पनि पालना नगर्दा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा भनिएको छ । आयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डसमेतको सहयोगमा प्रतिवेदन तयार पारिएको छ ।

प्रतिवेदन ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनलगायत सम्बन्धी देश र निकायमा रिभ्यूका लागि पठाउने र त्यसपछि सबैको जानकारीका लागि सार्वजनिक गरिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ८ : १४ बजे