७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक सकियो



काठमाडौं ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बीचको बैठक बिना निष्कर्ष सकिएको छ।

बिहीबार साँझ सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन दलको बैठक बसेको हो।

बैठक निष्कर्षविहीन भएपछि भोलि बिहान ८ बजे फेरि चार दलबीच बैठक बस्नेछ।

भोलि फेरि कांग्रेससँग बसेर छलफल टुंग्याउने जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

‘भोलि कांग्रेससँग बसेपछि मात्रै सबै कुरा टुंगो लाग्छ। तीन दलबीच लामो समयदेखि सहकार्य गरी जाने भन्ने चलिरहेको कुराकानी निरन्तरता हो। कसरी अगाडि बढ्ने भन्ने विषयमा भोलि नै टुंगो लगाउँछौं,’ उनले भने।

बैठकमा तीनै दलका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा एकीकृत समाजवादीले माधव नेपाललाई राष्ट्रपति बनाउनुपर्ने माग राखेको प्रकाश ज्वालाले बताए।

नेपालले पनि राष्ट्रिय सहमति भए आफू राष्ट्रपति बन्न तयार रहेको बताए।

‘एकीकृत समाजवादीले अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन सहयोग गर्नुस् भन्यौं,’ उनले भने, ‘उहाँले पनि राष्ट्रिय सहमति हुन्छ भने राष्ट्रपति बन्न तयार रहेको बताउनुभयो।’

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि नेपालको नाममा राष्ट्रिय सहमति भएमा आफ्नो तर्फबाट कुनै अवरोध नहुने पनि बताएका थिए।

उपप्रधान तथा भौतिक मन्त्री एवं उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि बैठकमा विभिन्न विकल्पमाथि छलफल भएको बताए।

‘विभिन्न विकल्पहरूमाथि छलफल भयो। हामीले राष्ट्रिय सहमति नै कायम हुनुपर्छ भन्नेमा अडान राख्यौं,’ उनले भने, ‘तर प्रमुख प्रतिपक्षी कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ।’

यस्तै, एकीकृत समाजवादीका नेता घनश्याम भुसालले व्यक्तिबारे धेरै कुरा नभएको भन्दै भोलि चार दलकै बैठकमा थप छलफल हुने बताए।

‘आज कांग्रेससहित बस्नुअघि हामी तीन दल बैठक बसेका हौं। ढिलो भएकोले भोलि चार दल बस्छौं। हामी तीन दलको एजेण्डा मिलेकाले शक्ति बाँडफाँडमा पनि मिल्नपर्छ भन्नेमा एकमत छौं’, उनले भने, ‘तर व्यक्तिबारे धेरै कुरा भएको छैन।’

यो बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र उपेन्‍द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

हिजो पनि राति बालुवाटारमा बसेको बैठकमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो। बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने भन्दै कांग्रेस र नेकपा एकीकृत समाजवादीको छलफल सकिएको थियो। तर आज पनि बिनानिष्कर्ष बैठक सकिएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ९ : २० बजे