१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरुः बाणगंगामा ७२ हजार बढीलाई खुवाइँदै



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । फाल्गुण २५ गतेसम्म चल्ने अभियान विहीबार देखि सुरु गरिएको हो ।

यता बाणगंगा नगरपालिकामा नगर प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा अभियान सुरु गरिएको छ । नगर प्रमुख अर्यालले बाणगंगा ४ गजेहडाको बुथबाट र उपप्रमुख रिता कुमारी थारुले वडा नम्बर ६ को बुथबाट औषधि खाएर अभियान सुरु भएको हो ।

नगर प्रमुख अर्यालले विगत १४ बर्षदेखि औषधि सेवन गर्दा पनि कपिलवस्तु हात्तीपाइले मुक्त नहुनु आफैमा लज्जास्पद विषय भएको बताए ।

उनले यो पटक जसरी भए पनि कपिलवस्तुलाई यस अभियानमा सफल बनाउन आवश्यक रहेको बताए । उनले हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने बताउँदै उनले भने, ‘शरीरमा हात्तीपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन, यसमा ढुक्क हुन्स् । त्यसैले यो औषधी खान सबैलाई अपील गर्दछु ।’

बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले ७२ हजार जनसंख्यालाई औषधि खुवाउने लक्ष्य रहेकोमा पहिलो दिन ७ हजार ८९० जनाले औषधि खाएको जानकारी दिए । उनले बाणगंगामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानमा ६० जान स्वास्थ्यकर्मी र ११२ जना स्वास्थ्य स्वयंसेवीका खटिएको बताए ।

आफूले वडा नम्बर ५ को बुथबाट औषधि खाएको बताउँदै उनले भने, ‘निमित्त प्रमुख खिम बहादुर जिसीले वडा नम्बर २ को बुथबाट खौषधी खानुभयो । सबै वडामा वडाध्यक्षहरुले अभियानको नेतृत्व गर्नुभएको छ ।’

विहीबारदेखि कपिलवस्तुसहित देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कपिलवस्तु, बाँके, दाङ, कैलाली, झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत र वागलुङमा सो औषधि खुवाउन थालिएको हो ।

सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ भने सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  ६ : ३४ बजे