१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न मेयर श्रेष्ठको आग्रह, अटेरी गरे सिफारिस रोक्का हुने



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन गर्न नगरबासीलाई आग्रह गर्नुभएको छ ।

विहीबार जयनगर स्वास्थ्य चौकीबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सन्चारकर्मीसंग बोल्दै नगर प्रमुख श्रेष्ठले हात्तीपाइले रोग विरुद्धको औषधि सबैले सेवन गर्नुपर्ने बताउँदै कसैले औषधि सेवनमा अटेरी गरे कारबाही हुने चेतावनी दिनुभयो ।

जिल्लामा १५ औं चरणको अभियान सुरु भएपनि हात्तीपाइले रोग मुक्त हुन नसकेको भन्दै औषधि सेवन नगर्नेमाथि यसपाली कारबाही हुने बताउनुभयो । औषधि नखाई दिदा अभियान नै असफल भएको भन्दै औषधि नखानेलाई वडा र नगरबाट गर्नुपर्ने कुनैपनि सिफारिस नगर्ने स्पष्ट पार्नुभयो ।

नगरका स्वास्थ्यकर्मीले चेकजाँच गरेपछि औषधि सेवन गर्न नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो । फाल्गुण २५ गते सबै नगरबासीलाई आफ्नो पायक पर्ने स्थानमा गएर औषधि सेवन गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

बुद्धभूमि नगरपालिकामा नगर प्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, नेकपा एमालेका नेता पीताम्बर खनालले गोरुसिंगेबाट औषधि सेवन गर्नुभएको छ ।

नगरका स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालका अनुसार नगरभित्र ७९ हजार जनसंख्यालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य छ । विहीबार पहिलो दिन झण्डै साढे ८ हजार जनाले औषधि खुवाएको अर्यालले बताउनुभयो ।

औषधि खुवाउने अभियानमा ६२ स्वास्थ्यकर्मी, ९३ जना महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिएको बताउनुभयो । औषधि खुवाउने अभियान नगरका सबै विद्यालयमा सुरु भएको छ । विद्यालयमा औषधि खुवाएको टोली अब घरघरमा पुगेर औषधि खुवाउने छ ।

हात्तीपाइले रोग विरुद्धको औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउने उहाँले बताउनुभयो । उहाँले हात्तीपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने बताउनुभयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  ६ : ५२ बजे