६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

शिवपुरको नेपाल आदर्श बहुमुखीमा पहिलो पटक एमाले अखिलले चुनाव जित्यो



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा पहिलो पटक नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार रामकुमार तेली विजयी भएका छन् । तेलीले १ सय ७६ मत ल्याउँदै विजयी भएका हुन् ।

यस्तै अध्यक्षमा लोकतान्त्रिक प्यानलका सुनिल हरिजनले १ सय १९ मत ल्याए । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पुरन आचार्यले ८७ मत ल्याउँदा नेविसंघका दिवाकर उपाध्यायले ८९ मत पाए ।

सचिवमा अनेरास्ववियुका अर्जुन बेल्वासेले १ सय ८१ मत ल्याएर विजयी भए । लोकतान्त्रिक प्यालनका शतिस पालले १ सय ८ मत पाउँदा राप्रवि संगठनका मेनुका बस्नेतले ९२ र नेविसंघका सन्तोष विष्टले ८४ मत पाए ।

कोषाध्यक्षमा अनेरास्ववियुकै गृन्जा थारु विजयी भएकी छिन् । थारुले १ सय ९४ मत ल्याउँदा लोकतान्त्रिक प्यानलका बन्दना कुर्मीले १ सय १४, राप्रवि संगठनका तौहिद खाँले १ सय ७, नेविसंघका वृजलाल गुप्ताले ४८ मत ल्याए ।

अरु ५ जना सदस्यमा सबै अनेरास्ववियु प्यानलकै उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा अनुपा खड्का, लक्ष्र्मी कार्की, दिलिप कुर्मी, निलम मिश्रा र कुमार केसी रहेका छन् ।

अनेरास्ववियुले यस क्याम्पसमा अझैसम्म अध्यक्ष जित्न सकेको थिएन । वि.सं. २०६५ को स्ववियुका नेविसंघका विशाल गुप्ता सभापति भएका थिए भने वि.सं. २०७३ सालको निर्वाचनमा राप्रपा निकट राप्रवि संगठनका रजत गुप्ताले चुनाव जितेका थिए ।

यो पटक अनेरास्ववियुको सिंगो प्यानल नै यहाँ विजयी भएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ६ : २५ बजे