७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घाँटी र गर्दनमा किन आउँछ मुसा ?



काठमाडौं ।
मानिसको छालामा अनेक खालका समस्या आउने गर्छन् । त्यसमध्ये धेरैले भोगेको समस्या मुसा पनि हो । हात, खुट्टा, गाला, आँखीभौं, परेली, नाकको टुप्पो, निधारलगायत शरीरका अन्य अंगमा मुसा आउँदा सौन्दर्यमा पनि असर पारिरहेको हुन्छ ।

शरीरमा कडा खालको तर दुखाइ नहुने स–साना मासुको डल्ला छालामा पलाउँछ, त्यसलाई मुसा भनिन्छ । अंग्रजीमा वार्ट भनिने यो ह्युमन पेपिलोमा (एचपीभी) भाइरसको संक्रमणका कारण हुने गर्छ । हरेक उमेर समूहका व्यक्तिमा आउन सक्ने मुसाले कुनै गम्भीर समस्या भने ल्याउँदैन ।

मानवमा पाइने पेपिलोमा भाइरसले छालाको सतहलाई माथि उठाइदिन्छ । यो भाइरस सयौं प्रकारको हुने भएकाले यो कुन ठाउँमा आउँछ, त्यसको आधारमा प्रकार निर्धारण हुन्छ ।

यो खटिरा शरीरमा आउँदा दुख्ने पोल्ने नभएको कारण पनि यसलाई सामान्य रुपमा लिइन्छ । यो शरीरको एउटा अंगबाट अर्को भागमा सजिलै फैलिनै भएकाले शरीरको सौन्दर्यमा भने असर पार्छ ।

छालामा आउने मुसा कति प्रकारको हुन्छ ?

शरीरमा झण्डै १०–१२ प्रकारका मुसाहरु देखिन्छन् । त्यो शरीरको कुन भागमा आएको त्यसमा भर पर्छ । घाँटीमा आउने दाना मुसाजस्तै देखिन्छ तर त्यो मुसा होइन, त्यसलाई स्किन ट्याग भनिन्छ । मानिसको तौलमा घटबढ भयो भने त्यस्तो आउँछ । यो विशेषगरी २५ वर्षदेखि ५० वर्षसम्मको उमेरका व्यक्तिमा बढी देखिन्छ । घाँटी, काखी, काछमा आउने यो सर्दैन । घाँटीमा खैरो खस्रो र गाढा कालो रंगको मुसा आउने गर्छ । यसबाहेक सेतो र रातो रंगको पनि मुसा आउने गर्छ ।

कसलाई बढी आउने सम्भावना हुन्छ मुसा ?

रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा मुसा आउने सम्भावना धेरै हुन्छ । त्यस्तै मोटोपन, मधुमेह, हाइपो थाइराइड भएका बिरामीमा मुसा आउने जोखिम बढी देखिन्छ । त्यस्तै वंशाणुगत रुपमा पनि मुसा आउँछ । घरमा कोही सदस्यलाई मुसा आएको छ भने त्यस परिवारका अरु सदस्यमा मुसा देखिने सम्भावना अधिक हुन्छ ।

उपचार

शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, चिलाएमा यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ । सामान्यतया मुसा ६ महिनादेखि वर्ष दिनभित्र आफैं हराएर जान थाल्छन् । त्यसको लागि कुनै विशेष उपचार गरिरहनुपर्दैन । त्यस्तै रगत परीक्षण गरेर खाने औषधि पनि दिन्छौं । कुनै कुनै मुसा काटेर फाल्नु नै राम्रो हुन्छ । योबाहेक यसलाई चिकित्सकको सल्लाहअनुसार कायोसर्जरी र लेजर प्रविधिबाट हटाउन सकिन्छ ।मुसालाई दाग नै नहुने गरी हटाउन सकिन्छ ।

रोकथाम

यदि कसैको आफ्नो नङ टोक्ने बानी छ भने त्यो छुटाउनुपर्छ । किनकि नङ टोक्दा छालामा घाउ भई त्यसबाट विषालु प्रवेश गर्न सक्छन् । सरसफाइमा विशेष ध्यान दिने, मुसा भएको ठाउँमा ब्रस गर्ने तथा सेभ गर्ने नगर्ने, मुसा छोइसकेपछि हात धुने गर्नुपर्छ । शरीरमा मोटोपन, मधुमेह, हाइपोथाइराइडलाई नियन्त्रणमा राख्नुपर्छ । साथै कुनै हार्मोनको समस्या छ भने त्यसको उपचार गर्नुपर्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. कार्की वीर अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ५ बैशाख २०८० मंगलबार ००:००  ७ : ५७ बजे