११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

शिवराजमा अफिस समयमा निजी क्लिनिक संचालनमा रोक



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यालय समयमा निजी क्लिनिक सन्चालनमा रोक लगाएको छ ।

केही दिन यता शिवराज नगरपालिकाको स्वास्थ्यमाथि खेलवाड विषयले चर्चा पाइ रहेका बेला नगर प्रमुख अजय थापाको अध्यक्षतामा बसेको स्वास्थ्यकर्मीहरुको बैठकले सरकारी स्वास्थ्यकर्मीले विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निजी क्लिनिक तथा फार्मेशी संचालन गर्न नपाउने गरी रोक लगाएको छ ।

अब नगरका कुनै पनि स्वास्थ्यकर्मीले कार्यालय समय बाहेक निजी क्लिनिक र फार्मेसी संचालन गर्दा नगर कार्यपालिकाको पूर्व स्विकृत लिनु पर्ने छ ।

बैठकले यही जेष्ठ महिनाको ८ गतेदेखि ‘जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी’ भन्ने नारासहित स्वास्थ्य सेवा संचालन गर्ने निर्णय गरेको छ ।

शिवराज नगरपालिकाले एउटा सूचना जारी गरी स्वास्थ्य संस्था दर्ता तथा स्विकृत बिना संचालनमा रहेको गुनासो आएपछि स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७६ को दफा २२ र नेपाल सरकारको जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा २१ बमोजिम स्थानीय तहले तोकिएको मापदण्ड पुरा गरी स्विकृत लिन सूचना मार्फत जनाएको छ ।

नगरपालिकाले एक महिनाको समय राखि नगर कार्यपालिकामा निवेदन पेश गर्नु पर्ने शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जानकारी दिए ।

पालिकाले सूचना उलघंन गरी वा अनुमती बिना स्वास्थ्य संस्था संचालन गरेको पाइएमा पालिकाको प्रचलित कानुन बमोजिम कारबाही गरिने स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  ५ : १६ बजे