विराटनगर । दक्षिण कोरियाबाट पर्यटक भिसामा आएर धर्म प्रचार गर्दै हिँडेका २४ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचाबाट २४ जना कोरियन नागरिक पक्राउ परेका हुन् ।
शुक्रबार सुन्दरहरैँचा नगरपालिका–७ मालती मार्गमा नेपाल न्यू कोभेनन्ट कलेजमा आयोजित धार्मिक प्रशिक्षण सहभागी भएका बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख कवित कटवालले पर्यटक भिसामा आएर धर्म प्रचारमा सहभागी भएपछि उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।‘पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न भएको देखियो । एउटा उद्देश्य लिएर आएर अर्काे काम गर्न मिल्दैन’, उनले भने ।
पक्राउ परेका दक्षिण कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए । उनीहरू अक्टोबर १२ सम्म मोरङमै रहने कार्यतालिका थियो ।
लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा क्रिस्चियन धर्म अध्यापन हुने प्रहरी स्रोत बताउँछ । पक्राउ परेकाहरूलाई अध्यागमन विभागले कारबाही गर्नेछ ।











प्रतिक्रिया